काठमाडौंमा तरकारीको मूल्यमा मनोमानी, पसलै पिच्छे फरक मूल्य

image
शुक्रबार​, भाद्र १२ २०७७

भदौ, १२ काठमाडौं ।  सर्वसाधारणले दैनिक उपभोग गर्ने तरकारीको मूल्य पसलैपिच्छे फरक रहेको सरकारी अध्ययनले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बिहीबार उपत्यकाका विभिन्न ३३ वटा तरकारीका खुद्रा पसल निरीक्षण गर्दा यस्तो भेटिएको हो ।एकै ठाउँका पसलमा प्रतिकिलो औसतमा १० देखि १५ रुपैयाँ फरक देखिएको छ । गोलभेंडामा भने ६० देखि १ सय २० रुपैयाँसम्म फरक देखिएको विभागले जनाएको छ ।

‘मूल्यसूची संकलन, तरकारी पसलको निरीक्षण गर्दा हामी नै छक्क पर्‍यौं । बालकुमारीमा प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भइरहेको बोडी जोरपाटीमा एक सय ४० रुपैयाँमा बिक्री भएको देखियो,’ विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने, ‘तरकारी पसल २ घण्टा मात्रै खुला हुँदा महँगो भयो । अर्को कारण बिचौलिया पनि हुन् ।’

विभागले टोखा क्षेत्रका सातवटा तरकारी पसलमा अनुगमन गरेको थियो । त्यस क्षेत्रमा पनि मूल्य फरकफरक देखिएको छ । लक्ष्मी तरकारी तथा फलफूल पसलले एक धार्नी आलुको १ सय ७० रुपैयाँ तोकेकोमा मुन्ना तरकारी फलफूलले १ सय ५०, गुरुङ तरकारीले १ सय ८०, चौकीपारि तरकारी पसलले १ सय ९०, मुन्नाको भाइ तरकारी पसलले १ सय ८०, एमके फ्रुट तरकारीले १ सय ७० र रोशन स्टोरलले १ सय ७० रुपैयाँमा बिक्री गर्दै आएको पाइएको थियो । प्याजको मूल्यमा पनि २० रुपैयाँ फरक पाइएको थियो । एमके फ्रुट तरकारीले प्रतिकिलो ४० रुपैयाँमा बिक्री गरेको प्याज लक्ष्मी तरकारी तथा फलफूलले ६० रुपैयाँमा बिक्री गरेको थियो ।

‘सस्तोमा बेच्थ्यौं तर खोल्न दिइएन’

खुद्रामा तरकारीको मूल्य अस्वाभाविक रूपमा बढिरहँदा डिपार्टमेन्टल स्टोरहरूले भने सस्तोमा दिने दाबी गरेका छन् । उनीहरूले किसानको बारीबाटै सिधै खरिद गर्ने दाबी गर्दै सस्तोमा दिन सक्ने मूल्यसूचीसमेत निकालेका छन् । प्रतिकिलो प्याज ३९ रुपैंयाँ, गोलभेडा ५० रुपैंयाँ, काउली १ सय १० रुपैंयाँ र सल्यानको आलु ५९ रुपैयाँमा दिन सक्ने भाटभटेनी सुपरमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए ।कान्तिपुरबाट