भदौ, ६ चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–६ जमुनापुरका सीपी अधिकारी चक–डस्टर छाडेर मल–पानीमा लागेको पाँच वर्ष भयो ।निजी विद्यालयको प्रिन्सिपल र मन्टेश्वरी सञ्चालकको रूपमा राम्रै कमाइ र प्रतिष्ठा आर्जन गरिरहेका बेला अचानक उनी कृषि कर्ममा लागेका थिए ।‘सबै कुरा राम्रै थियो तर मनमा आनन्द भएन’, विज्ञानमा स्नातक गरेका उनी भन्छन्, ‘अनि १७ वर्ष लामो शिक्षण पेशा छाडेर अचानक कागती खेतीका लागि स्काप मल्टी एग्रो फार्म खोलेँ ।’
उनले सुरुमा प्रतिकठ्ठा तीन हजार रुपैयाँ भाडा तिर्नेगरी एक बिघा जग्गामा ३५० वटा बिरुवा लगाए । अनुभव थिएन, प्राविधिक पक्षका बारेमा विज्ञ र युट्युबबाट सिक्दै व्यावसायिक कागती खेती थाले । दोस्रो वर्ष कालिका–६ जमुनापुरका आफ्नै डेढ बिघामा ६५० बिरूवा रोपे ।
बिरुवा लगाएको तीन वर्षमा उनको पहिलो फार्ममा कागती फल्न थाल्यो । अहिलेसम्म करिब १० नगद आएको छ । यस वर्ष १० लाखको कागती बेच्न सकिन्छ भन्ने उनलाई लागेको छ ।तीनवटा बगैंचाको वार्षिक खर्च दुई लाख रुपैयाँसम्म छ । कागतीका लागि सुरुमा निकै कामदार लागे पनि पछि मौसमी काम गराउँदा पुग्छ ।
कागती बाह्रै महिना बिक्री हुने चिज हो । यसमा मुख्यगरी तीन किसिमका रोगले दुःख दिने अधिकारी बताउँछन् । ‘पात दोब्रिने लिफमाइनर, डाँठ र फलमा खटिरा देखिने क्याङकर र दाना झर्ने रोग लाग्दो रहेछ । बेलाबखत जरा कुहिने रोगले पनि दुःख दिन्छ’, उनी भन्छन्, ‘चाहिएको बेला युरिया मल नपाउनुचाहिँ बाह्रमासे समस्या हो ।’कालिकामा अधिकारीसहित १० जना व्यावसायिक कागती खेतीमा लागेका छन् । चितवनभरका झण्डै ५० जना व्यावसायिक कागती खेतीमा लागेका छन् । चितवनमा १०० बिघा जमिनमा कागती खेती भएको अनुमान छ ।
कृषक अधिकारी अहिलेसम्म कुनै सरकारी निकायबाट एक रूपैयाँ पनि अनुदान नलिएको बताउँछन् । ‘बिरुवा रोप्ने बेलामा कृषि ज्ञान केन्द्र पुगेको थिएँ’, उनी भन्छन्, ‘कहिले पाउने टुङ्गो नभएको बिरुवाको ३५ रुपैयाँ र त्यसमा अनुदान १७ रुपैयाँ ५० पैसा भनेपछि त्यसै फर्किएँ ।’ सरकारी अनुदानको चक्करमा समय बिताउनुभन्दा २०० रुपैयाँ गोटा बिरुवा किनेर धमाधम रोप्न ठीक लागेको उनले बताए ।
भारतबाट आउँछ विषादीयुक्त कागती
कागतीको बजार राम्रो छ तर मूल्य बिचौलियाले तोक्छन् । अधिकारीले नारायणगढको तरकारी मण्डीमा लगेर कागती बेच्ने गरेका छन् । उनका अनुसार भाउ पाइन्छ– प्रतिकिलो १०० देखि २०० रुपैयाँसम्म । ‘किलोको १०० चाहिँ घाटाको भाउ हो’, उनी भन्छन्, ‘तर भाउ तोक्नेहरू सस्तो भारतीय कागती आएकाले नेपालीको मूल्य खस्केको छ ।’
उनका अनुसार, भारतबाट विषादीले पहेँलो भएको कागती आउँछ । नेपालीको आँखा पहेँलोले नै टिप्छ, रसदार हरियो नेपाली कागतीले तान्दैन । ‘त्यसैले नेपाली कागतीको बजारहिस्सा जम्मा ७ प्रतिशत छ’, उनी भन्छन्, ‘९३ प्रतिशत कागती भारतबाटै आपूर्ति भइरहेको छ ।’
भारतमा जे लगाए पनि किसानलाई ठूलो परिमाणमा सरकारी अनुदानको व्यवस्था गरिएको छ । त्यसले गर्दा किसानको उत्पादन लागत कम हुने भएकाले भारतीय काउलीदेखि कागतीसम्म सस्तो पर्छ । भारतीय कृषि उपजको भाउसँग नेपाली किसानले प्रतिस्पर्धा गर्नसक्ने अवस्था अहिले छैन ।त्यसैले, अधिकारीको १० बिघा जमिनमा कागती उब्जाउने योजना थाँती रहेको छ । खाल्डा खनिसकेको ठाउँमा पनि नयाँ बिरुवा लगाउने आँट नआएको उनी बताउँछन् ।
उनका अनुसार नेपालमा जमिनको लिज अवधि पनि समस्याको रूपमा रहेको छ । तेस्रो वर्षमा मात्र उत्पादन हुन थाल्ने कागती खेतीका लागि कम्तीमा १० वर्षका लागि जमिन चाहिने अधिकारी बताउँछन् । ‘पाँच वर्षका लागि लिजमा लिएर कागती रोप्नुको अर्थ हुँदैन’, उनी भन्छन्, ‘पानी नजम्ने, यातायात सुविधा भएको जग्गा १० वर्षका लागि पाउनु पनि असम्भव जस्तै भएको छ ।’
त्यसमाथि भारतीय कागती सस्तो हुनु, नेपाली किसानले अनुदान र प्राविधिक सहयोग नपाउनुलगायतका कारण नेपालमा कागती बजार भएर पनि व्यावसायिक खेती फस्टाउन नसकिरहेको अधिकारी बताउँछन् ।
अबको योजना : कागतीको बेर्ना
कागतीको बिरुवाका लागि निकै दुःख पाएका अधिकारी आफैँले गुणस्तरीय बिरुवा उत्पादन गर्ने योजना बनाएका छन् । सरकारीस्तरबाट कागतीको बिरुवा उत्पादन गर्ने धनकुटाको पारीपात्ले जाँदा निकै हण्डर पाएका उनले दानाको साटो बिरुवा उमार्ने तयारी थालेका हुन् ।
सरकारी तवरबाट उत्पादित सुन कागती–१ को एउटा बिरुवालाई अहिले ६० रुपैयाँ र निजीस्तरबाट उत्पादितलाई २०० पर्छ । त्यसैले यसमा अवसर देखेका अधिकारी सुन कागती–१ र २ जातका बिरुवा निकाल्ने तयारीमा लागेका हुन् ।
उनका अनुसार सानो चिल्लो दाना लाग्ने सुन कागती–१ बाह्रमासे फल हो । नेपालमा वर्षभरि न्यानो र ओसिलो हावापानी हुने समुद्री सतहबाट १०० मिटरदेखि १८०० मिटर उचाइसम्म यो कागती फल्ने अधिकारी बताउँछन् ।
कसरी लगाउने कागती ?