भदौ, ७ बुटवल । रूपन्देहीको रोहिणी गाउंपालिकाका एक पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनवामा मृत्यु भएको थियो ।मृत्युपछि उनको शब नेपाल ल्याएर बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले मिश्रको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टी गरे ।
मृतकका आफन्त कृष्णचन्द्र मिश्रले पनि फेसबुकमा कोरोना रिपोर्ट सार्वजनिक गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएका मृतकको संख्या ५ पुगेको छ ।
दाह संस्कार गर्दागर्दै मलामी भागाभाग
मिश्रको शवलाई आइतबार मध्यान्ह परिवारजनले दाह संस्कार गर्ने अन्तिम तयारी गरेका बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो खबर पुगेपछि घाटमा पुगेका मलामीको पनि भागाभाग भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन शाहले कोरोना रिपोर्ट पोजेटिभ आएकाले मिश्रको शब नजलाउन आफन्तलाई आग्रह गरे पनि नमानेका बताए । रोहिणी गाउंपालिकाका अध्यक्ष सनोजकुमार यादवले शबलाई चितामा राखेर जलाउनै लागेका बेला कोरोना पुष्टि भएको खबर आएपछि धेरै मलामी भागाभाग भएको र परिवारका सदस्यले जलाएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष यादवले १०० जना भन्दा बढी मलामी गएको बताए । मृतकका आफन्त, मलामी गएका सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।