भदौ,९ कैलाली । कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३२ गते मृत्यु भएका मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कैलालीकै मोहन्याल गाउँपालिका–३ मा मृत्यु भएपछि उनको शव भदौ १ गते उनका आफन्तले घर ल्याएका थिए । उनको शव घर ल्याउने क्रममा बाटोमै संकलन गरिएको थियो ।‘लास घर ल्याउँदै गर्दा हामीले बाटोबाटै स्वाब सङ्कलन गरेका थियौं, आज रिपोर्ट पोजेटिभ आयो’ बर्दगोरियाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीले भने ।उनको अन्त्येष्टिमा १५० जना मलामी गएको स्थानीयको अनुमान छ । अहिले उनीहरुको खोजी भइरहेको जोशीले बताए ।
उनले मृतकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको बुधवार स्वाब परीक्षण गर्ने तयारी भइरहेको जनाए । ‘उनी राजनैतिक दलका कार्यकर्ता हुन् । भारत गएका थिएनन् भन्ने बुझिएको छ ’उनले भने ‘थप विषय हामी खोज्दैछौं ।’झाडापखालाका कारण उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । ‘उहाँको झाडापखालाका कारण मृत्यु भएको थियो’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने ‘मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।’