भदौ,१३ वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १ सय ३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् ।
मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।