महोत्तरीमा २ जना कोरोना संक्रमितको मृत्यु

image
मङ्गलबार, भाद्र ९ २०७७

भदौ, ९ जनकपुरधाम । महोत्तरीमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका- ३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो ।

मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका वृद्धलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।उपचारबाट फर्किएका बृद्ध पोजेटिभ भएको जानकारी आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको हो ।

यस्तै, बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा  उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको हो । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

‘निमोनियाबाट ग्रसित बृद्धको अवस्था सोमबारै गम्भीर थियो, उनलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गरे पनि मृत्यु भयो’ प्रादेशिक अस्पताल कोभिड- १९ संयोजक डा. जामुन सिंहले भने । प्रादेशिक अस्पतालमा पुग्नुअघि ती वृद्धको जनकपुरधामको विभिन्न अस्पतालमा उपचार गराएको पाइएको सिं‌हले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीका अनुसार बलवाका वृद्धको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा चार दिनअघि स्वाब संकलन गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको थियो ।योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।