भदौ,१४ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले १७ गतेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्न नहुने बताएका छन् ।बन्द थपेको थप्यै गर्दा मुलुकको अर्थतन्त्र डामाडोल हुने भन्दै उनले १७ गतेपछि काठमाडौं प्रवेश गर्ने नाकाहरुबाट मान्छेको आवात-जावत रोकेर काठमाडौं उपत्यका भने खोल्नुपर्ने बताएका हुन् ।
उनले जोरबिजोर प्रणाली भने कायम गर्नुपर्ने बताए । व्यापार व्यवसायहरु पनि निश्चित समय र दिन तोकेर सञ्चालनमा ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । ‘बन्द नै समाधान होइन, मुलुकको अर्थतन्त्रलाई बचाउन पनि हामीले निषेधाज्ञा खोल्नैपर्छ’ उनले भने, ‘ बजार खुला गरेपछि सतर्कता अपनाउनुपर्छ, तर बन्द राख्नुहुँदैन ।’
काठमाडौं भित्रिने थानकोट, दक्षिणकाली, साँगा लगायतका नाकाहरुमा मान्छे रोकेर काठमाडौं उपत्यकालाई जोगाउन सकिने बताए।
उनले अहिले सरकारले डेलिभरी सेवा प्रदायकलाई रोक लगाएकोप्रति पनि दुःख व्यक्त गरे । उनले ई-कर्मलाई प्रोत्साहन गर्नुपर्ने बताए । पछिल्लो समय व्यापार ठप्प हुँदा उद्योगी-व्यवसायीहरुको मनोवल घटेको उनको बुझाइ छ । अब सरकारले उद्योगी/व्यवसायीको मनोबल बढाउने नीति लिनुपर्ने उनले बताए ।
यसरी बन्द हुँदा राज्यको आम्दानी राजस्व पनि गुम्ने र धेरैको रोजगारी पनि गुम्ने भएकाले लामो समय बन्द राख्न नहुने उनको तर्क छ ।अब सरकारको भर पर्ने भन्दा पनि सबैजना आफैं सचेत हुनुपर्ने श्रेष्ठको सुझाव छ । सबै सचेत हुने हो भने बन्द गर्नैपर्ने आवश्यकता नरहेको उनी बताउँछन् ।