असोज, ९ काठमाडौं । असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको निगमको थानकोट प्रादेशिक डिपोले जनाएको छ ।
दुर्घटना नियोजित हो की भन्ने आशंकामा प्रहरीलाई छानबिन गर्न भनिएको थानकोट डिपो प्रमुख प्रदिपकुमार यादवले बताए।‘पहिलेदेखि नै दुर्घनामा परेको ट्यांकर चालकको भूमिका शंकास्पद थियो, पछिल्लो समयमा मिसावटमा कडा कारबाही हुन थालेपछि दुर्घटना गराइएको आंशकामा अनुसन्धान गर्न भनिएको हो,’ डिपो प्रमुख प्रदिप कुमार यादवले भने ।थानकोट डिपोमा ट्यांकर नआईपुग्दै उक्त ट्यांकरमा मिसावट बारेको अपुष्ट सूचना प्राप्त भएपनि त्यसको आधिकारिक पुष्टि भने भईनसकेको डिपो प्रमुख यादवले बताए ।
असोज ४ गते विहानको दुई बजे नदीमा खसेको २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर सुदीप बोहराले चलाएका थिए । चालकसहित ट्यांकरमा सवार सहचालक मनिष नगरकोटी दुर्घटनामा सुरक्षित रहेपनि २१ लाख रुपैयाँ पर्ने पेट्रोल नष्ट भएको थियो ।दुवैजनालाई हिरासतमा लिएर अहिले गजुरी प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ ।