भदौ,२७ काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रवार राति पौने दश बजे टिप्परको ठक्करबाट ज्यान गुमाउने मोटरसाइकल चालक चलचित्रकर्मी तथा टेलिभिजनकर्मी अनिल गौतम भएको खुलेको छ ।लामो समयदेखि भिजुअल एडिटरको रुपमा कार्यरत उनी पछिल्लो समय प्राइट टाइम टेलिभिजनमा दृष्य सम्पादकको रुपमा कार्यरत थिए ।
सञ्चारकर्मी लक्ष्मी धिमालले शनिवार बिहान फेसबुकमा गौतमको तस्बिरसहितको स्टाटसमा लेखेकी छिन्—‘प्राइम टाइम्स टेलिभिजनका भिडियो एडिटर अनिल गौतम दाइलाई गए राति अफिसवाट घर फर्कँदा तिनकुनेको मुन्निभैरवमा टिपरले हानेर दुःखद निधन भएको खबरले निकै दुखित बनाएको छ । कोरोनाभन्दा पनि भयानक ज्यानमारा यो टिपरलाई सरकारी तवरबाट केही गरियोस् । मृतकप्रती हार्दिक श्रद्धाञ्जली ।’

उता चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि एउटा स्टाटस लेख्दै गौतमप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अधिकारीले लेखेका छन्—‘फेरी अर्को अति दुखद खबरले मन पोल्यो । मेरो चलचित्रयात्रा देखि नै अनिललाई सहायक सम्पादक, नेगेटिभ सर्टिङ, कटिङहुँदै अति मेहनतका साथ सम्पादक बनेको देखेको थिएँ । सबैलाई दर्जानुसार सम्मान गर्ने, न हाँसिकन बोल्न न जानेका अति मिलनसार भाइ अनिल गौतमको असामयिक निधनले अति दुःखी तुल्यायो र चलचित्र उद्योको अर्को ठुलो क्षती हो। घटनाको छानबिन होस् र दोषी ठहरिएमा शसक्त कारबाही होस् । स्वर्गीय गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पर्ण । नेपाल चलचित्र निर्माता संघ, परिवार ।’
शुक्रवार राति प्रदेश ३–०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलमा सवार अनिल गौतमको निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको थियो । गौतमलाई हिजो शुक्रवार राति पौने १० बजे टिप्परले ठक्कर दिएको थियो ।
गौतमको उपचारका क्रममा सिभिल अस्पतालमा निधन गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।