राजुलाई सम्झिँदा

image
मङ्गलबार, भाद्र २३ २०७७

गीता शाही

ऊ भर्खरै १६-१७ सत्रको केटो 
किशोर मनले कहाँ पुर्या-उँदो हो, के-के सोच्दो हो 
कति सपना खेल्दा हुन उसको मनमा 
सँगैका साथी कलेज जाँदै गरेको देख्दा
त्यो कलिलो  मस्तिष्कले के  भन्दो हो।

सजिएका थिए होलान् रंगीन सपना उसको मनमा पनि
पालेर राखेका हुँदा हुन् बा-आमाले पनि लाखौं चाहना 
तर खै भाग्यले भनुँ या बेवास्ताले 
शरीरमा बिग्रिएका मिर्गौला बोकेर
अस्पतालका चार कुनामा देखेका अनि सजाएका सपनालाई
तिलान्जली दिइरहेछ

जाबो दुई बारुलाको टोकाइले
जिन्दगीभर भर मेसिनको सहारामा बाँच्न पर्ला,
त्यो बालमगजले कहिले सोच्यो होला र?
तर कलिलो शरीरलाई त्यो विषले गलाउँदै लग्यो
अनि बिगार्दियो कहिले नबन्ने गरी 

जबजब ऊ पानी भरिएको  पेट, सुन्निदै गरेको शरीर
अनि आशा मरेको मन लिएर आउँछ
फिस्टुला घोच्नु पहिले सोच्छु,
त्यो शरीरमा भएको सबै विष निकाल्दिन पाए? 
अनि बिग्रिएका मिर्गौलाले फेरि काम गर्दिए? 
ऊ आजाद चरीजस्तै आफ्नो गन्तब्य आफैं बनाउँदै  
४५-५० डिग्रीको घाममा पसिना बगाउने बाको
आँट अनि भरोसा बन्न  सक्थ्यो होला
आफूलाई सधैं दोषी मान्ने आमाको आँसु पुछ्न सक्थ्यो होला 

उसको निर्दोष आँखा हेर्दै सोचमग्न हुन्छु,
ऊ स्वस्थ भइदिए! 
मेरो सोचाइ वास्तविकतामा परिणत भइदिए!

चार घन्टासम्म शरीरको बिकार निकाल्दै पठाउँदै गरेको  मेसिन
अनि उसको कालो हुँदै गएको छाला
गढिँदै गएका नयनसँगै निदाइरहेको उसलाई हेर्छु 
लाग्छ, ऊसँगै उसका सपना पनि निदाइरहेछन्।