भदौ, १४ बुटवल । प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो ।कोरोना संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई संक्रमणमुक्त स्वस्थ व्यक्तिले रगत दिएर गरिने उपचारका लागि प्लाज्मा संकलन गर्न प्लाज्मा बैंक स्थापना गरिएको हो ।
कोरोना संक्रमित व्यक्ति निको भएको १४ दिन पुगेपछि उसले दिने रगतबाट आरबीसी, डब्लुबीसी र प्लेटलेट्स छुट्याएर बाँकी रहेको रगतको अंश अर्थात प्लाज्मा जटिल अवस्थामा कोरोना संक्रमितलाई दिँदा निको भएकाले नेपालमा पनि यो विधि प्रयोगमा ल्याइएको छ ।
प्लाज्माले भाइरसको संक्रमणलाई रोकेर निष्क्रिय पारी रोग प्रतिरोधी क्षमता बढाउने हुनाले प्लाज्मा थेरापीलाई कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका संयोजक डा.प्रशान्त आचार्यले बताए ।कपिलवस्तुको जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम गरी कोरोना संक्रमण मुक्त व्यक्तिबाट रगत संकलन गरिएको छ र संकलित रगतलाई बुटवलको रक्त सञ्चार केन्द्रमा राखिएको छ ।
केन्द्रमा जम्मा हुने प्लाज्मा बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका जटिल अवस्थाका संक्रमितलाई दिइने नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ का सदस्य डा. सम्राट पराजुलीले बताए ।
‘विश्वका धेरै देशमा प्लाज्मा थेरापी उपचार विधिले राम्रो नतिजा दिएको छ’ डा. पराजुलीले भने, ‘नेपालमा पनि १५ वटा अस्पतालमा शुरु भएको छ, काठमाडौंमा ८ दिन भेन्टिलेटरमा बसेका संक्रमित पनि निको भएका छन् ।’प्लाज्मामा एन्टीबडीको मात्रा धेरै हुने भएकाले नियमअनुसार उपचार गर्न सकिएमा प्लाज्मा थेरापीबाट संक्रमितलाई संक्रमणमुक्त गराउन सकिने उनले बताए ।
बुटवलको कोरोना अस्पतालमा एकजना महिलामा प्लाज्मा थेरापी उपचार गरे पनि उनको मृत्यु भयो । अन्य तीन जनामा पनि प्लाज्मा थेरापीबाट उपचार भइरहेको र राम्रो रेस्पोन्स आएको डा. पराजुलीले बताए ।
स्थानीय तहहरुबाट तथ्यांक लिएर संक्रमणमुक्त व्यक्तिसँग सम्पर्क गरी उनीहरुले चाहेकै ठाउँमा रक्तदान गराई प्लाज्मा संकलन गरिने पराजुलीले जानकारी दिए । भदौभित्र कम्तीमा ५० जना संक्रमणमुक्त व्यक्तिको प्लाज्मा संकलन गर्ने लक्ष्य रहेको उनले बताए । संक्रमणमुक्त भएका व्यक्तिले प्लाज्मा दिँदा उनीहरुको स्वास्थ्यमा कुनै असर नगर्ने डा. पराजुलीले बताए ।