एकैपटकमा ४ शिशु जन्माएपछि महिलाको मृत्यु

image
बुधबार, भाद्र १७ २०७७

भदौ, १७ जनकपुरधाम । धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन् । शिशु जन्मिएपछि ती महिलाको भने मृत्यु भएको छ ।

जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् ।बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृतयु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए ।महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको सिंहले बताए ।