भदौ,१८ काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् ।कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए ।
लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।
त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।
महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको भन्दै सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भइरहेको बताए ।
उनले भने, ‘जोसुकैले गरे पनि सबैलाई कानूनी दायरामा ल्याएरै छोड्छौं ।’ ललितपुर प्रहरीले पनि जवान घिमिरेमाथि कुटपिट गर्नेको खोजी थालिएको जनाएको छ ।
महामारीमा फ्रन्टलाइनमा खटिनेलाई सरकारले अतिरिक्त भत्ता दिने घोषणा गरे पनि सुरक्षाकर्मीले अझै पाएका छैनन् । यस्तो अवस्थामा पनि महामारीविरुद्धको प्रतिकार्यमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि पटकपटक दुर्व्यहार हुने गरेको छ ।
महामारी नियन्त्रणका लागि उपत्यका प्रशासनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी साता व्यापी निषेधाज्ञाको आदेश जारी गरेको छ । यसअघि दुई साता पनि निषेधाज्ञा लागू गरिएको थियो ।