भोलिदेखी आन्तरिक उडान खुल्ने, कुन स्थानको भाडाको कति ?

image
आइतबार​, आश्वीन ४ २०७७

असोज, ४ काठमाडौं ।  सात महिनापछि खुल्न लागेको आन्तरिक उडानको भाडादर सुरूवाती दरमा खुलेको छ।एयरलाइन्सहरूले सिमित उडान भोलिदेखि खुलाउने निर्णय गरेसँगै सुरूवाती भाडाबाट उडान खुल्ने भएको छ।

सरकारले तोकिदिएको भाडाको तल्लो आधारबाट एयरलाइन्सहरूले भाडादर लिइरहेका छन्।एयरलाइन्सहरूले खुलाएको टिकट बुकिङअनुसार काठमाडौंबाट बाहिरिने यात्रुका लागि तल्लो तहको भाडामा टिकट बिक्री भइरहेको छ।

सरकारले विभिन्न तहका लागि भाडादर तोकिदिएको हुन्छ। जसमा एयरलाइन्सहरूले माग धेरै हुँदा भाडादर बढाउछन् भने थोरै हुँदा घटाउने गर्छन्। तर अधिकतमभन्दा बढी लिन भने पाउँदैनन्।

कोरोनाका कारण बन्द रहेको उडान खुल्दा एयरलाइन्सहरूले खुलाएको अनलाइन टिकट बुकिङमा अघिल्लो वर्षको चाडपर्वको मुखमा काठमाडौंबाट बाहिरिने उडानको भाडादरको तुलनामा यो वर्ष सस्तो देखिएको हो।

यद्यपी यो भाडामा इन्धनको मूल्य तलमाथि हुँदा हेरफेर हुन्छ। यद्यपी यो भाडादर बेलुका वा भोलिसम्म अझै बढ्नसक्छ। यदि बुकिङ सकिन लाग्यो भने भाडा बढ्दै जान्छ। र खाली हुने सम्भावना बढेर गयो भने अझै सस्तो पनि हुनसक्छ।

आइतबार अपरान्हसम्म काठमाडौं देखि देशका विभिन्न स्थानहरुमा तय भएको भाडादरको सूची तल उल्लेख गरिएको छ ।

काठमाडौंबाट विराटनगरको लागि न्यूनतम रु ३,३००, सिमराको लागि २९०५, जनकपुर र पोखराको लागि २-२ हजार, भैरहवाको लागि २६००, भद्रपुरको लागि ३२००, नेपालगन्जको लागि ५१०५, भरतपुरको लागि २४०० र धनगढी टिकट उपलव्ध छैन ।

क्रस कहाँदेखि कहाँसम्म न्यूनतम मुल्य अधिकतम मुल्य
काठमाडौं विराटनगर ३३०० ६९५५
काठमाडौं सिमरा २९०५ २९०५
काठमाडौं जनकपुर २००० ४००५
काठमाडौं पोखरा २००० ३१५५
काठमाडौं भैरहवा २६०० ५८५५
काठमाडौं भद्रपुर ३२०० ८९५५
काठमाडौं नेपालगञ्ज ५१०५ ९६५५
काठमाडौं भरतपुर २४०० ३४०५
काठमाडौं धनगढी मुल्य उल्लेख नभएको मुल्य उल्लेख नभएको

यसअघि सरकारले असोज १ गतेदेखि नै आन्तरिक उडान खोल्न अनुमति दिएपनि ५० प्रतिशत मात्र यात्रु उडाउनु भनेपछि नेपाल वायु सेवा संचालक संङ्घले उडान रोकेको थियो ।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज ५ देखि नियमित उडान गर्न पत्र लेखेको हो। उक्त पत्रमा यात्रुको संख्या उल्लेख नभएकाले सिटभरी यात्रु राख्न पाइने भएपछि वायूसेवा संचालक संङ्घले असोज ५ देखि नियमित रुपमा उडान सूचारु गर्नेभएका हुन् ।प्राधिकरणले पहिलो चरणमा २५ देखि ३० प्रतिशत मात्रै उडान हुने जनाएको छ।