भदौ, २९ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ । प्रशासनले सहकारीका चार जनाले कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।
सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर स्थानीय प्रशासनको छ । त्यसैले सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णयसमेत गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
सरकारबाट अनुदानमा मल लिएर किसानलाई बढी शुल्कमा बेचिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सहकारीका व्यवस्थापक विनोद अधिकारीसहित चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा खरिद बिक्री उपसमितिका संयोजक रामकृष्ण तिमिल्सिना, सदस्यद्वय निर्मला घिमिरे र मायानाथ अर्याल थिए ।
यस्तै जिल्ला प्रशासनले जफत गरिएको मल बिक्री वितरणका लागि स्थानीय तहलाई जिम्मा दिने र सो बापतको रकम सरकारको राजश्व खातामा जम्मा गर्ने निर्णय गरेको छ ।
यस्तै जिल्ला प्रशासनले सो सहकारी संस्थालाई थप कारबाही गर्नका लागि स्थानीय तह रत्ननगर नगरपालिकालाई पत्र पठाएको छ। सहकारी संस्थाहरु स्थानीय सरकारसँग अनुमति लिएर सञ्चालनमा रहेकाले सोही अनुरुप स्थानीय तहबाट पनि कारबाही गर्नका लागि पत्र पठाइएको हो ।