चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सर्‍यो

image
मङ्गलबार, भाद्र ३० २०७७

भदौ, ३० चितवन  । चितवन जिल्लामा भएका कुल संक्रमितमध्ये ५० प्रतिशतमा अस्पतालबाट नै कोरोना फैलिएको एक अध्ययनले देखाएको छ । चितवन जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो ।

केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २ सय ५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन । यो संख्या आजसम्म संक्रमित संख्याको २० प्रतिशत हुन आउँछ ।

कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति संक्रमित भएको पाइएको उनले बताए । यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेक संक्रमित अन्य १ सय १ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा कोरोना संक्रमण भएको बताएका छन् । तिवारीले भन्छन्, “जिल्लामा जम्मा संक्रमण ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो ।”

अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १ सय ११ जनामा सङ्क्रमण देखिएको छ । कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको संक्रमण बढ्दो क्रममा रहेको छ । घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा संक्रमण फैलिएको पाइएको छ ।