प्रहरीबाट कुटपिट र यातनाका घटनाहरु सार्वजनिक भइरहेका बेला उपत्यकाका २४३ वटै प्रहरी युनिटमा मानवअधिकारबारे प्रशिक्षण

image
बुधबार, आश्वीन ७ २०७७

असोज, ७ काठमाडौं । प्रहरीबाट कुटपिट र यातनाका घटनाहरु सार्वजनिक भइरहेका बेला महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण दिने भएको छ ।प्रशिक्षण दिन एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोली खटाइएको छ ।

जनताको हक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई प्रशिक्षण दिइने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए ।कोरोना संक्रमणको जोखिमका बाबजुद पनि ड्युटी पूरा गर्नुपर्दा कर्मचारीमा व्यक्तिगत, पारिवारिक र मनोगत समस्या देखिएकाले पनि प्रशिक्षण दिन लागिएको डीआईजी पोखरेलले बताए ।

कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै सडक प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीहरुले निर्मम ढंगले कुटपिट गरेपछि नेपाल प्रहरीको आलोचना हुँदै आएको छ ।

हालै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा निरन्तरता दिन माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बबरमहलमा रगताम्य हुने गरी कुटपिट गरेको थियो ।

साथै संविधान दिवसको सन्दर्भमा मिडियालाई प्रतिक्रिया दिइरहेका एक व्यक्तिमाथि नयाँबानेश्वरमा प्रहरी जाइलागेको थियो । त्यतिमात्रै होइन, रौतहटमा हिरासतभित्रै मृत्यु भएका घटनाबाट पनि प्रहरी आलोचित बनेको छ ।