गण्डकी प्रदेश सभाको सभापति मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टि

image
बिहीबार, भाद्र १८ २०७७

भदौ, १९ पोखरा । गण्डकी प्रदेश सभाको विधायन समिति सभापति मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।स्याङ्जाबाट निर्वाचन सांसद रेग्मीलाई बिहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि रेग्मीको स्वाब परीक्षण गरिएको थियो ।

बुधबार नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सांसद रेग्मीले गणका प्रमुख लगायतसँग सँगै खाना खाएका पाइएपछि उनको पनि स्वाब संकलन गरिएको थियो ।

विधायन समिति सभापति रेग्मीले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ ।’जो कोहीलाई पनि कोरोनासँग लड्नुपर्छ भनेर तयार हुनुपर्ने रेग्मीको भनाइ थियो ।

सभापति रेग्मीले कामका सिलसिलामा धेरै जनाको सम्पर्कमा रहेको र उनीहरुलाई नआत्तिई सुरक्षित भएर रहन आग्रह गरे । ‘मलाई कोरोनाको लक्षण देखिएको छैन । कोठमै बसिरहेको छु,’ रेग्मीले भने, ‘ कोरोनासँग एक दिन लड्ने दिन आउँछ भनेर तयार पनि थिएँ ।’

रेग्मीले स्वाब दिएपछि पनि मन्त्रीदेखि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएएको छ । विधेयकमाथि छलफल गर्न पनि उनी सामाजिक विकास मन्त्री नरदेवी पुनको क्वार्टरमा पुगेका थिए । उनी भौतिक पूर्वाधारमन्त्री, पर्यटनमन्त्री लगायतसँग पनि सम्पर्कमा पुगेको पाइएको छ ।

सभापति रेग्मी बुधबारमात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । मुख्यमन्त्री अर्को बैठकमा भएकाले नभेटी फर्किएको स्रोतले जानकारी दिएको छ ।

सांसदलाई संक्रमण देखिएपछि उनलाई होम आइसोलेसन वा कोभिड उपचार केन्द्रको आइसोलेसन लैजाने भन्ने छलफल भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले कन्ट्याक्ट टेसिङका लागि तयारी भइरहेको बताए ।

‘पहिले उहाँको सम्पर्कमा आएकाहरुको लिस्ट तयार हुन्छ । सम्पर्कमा आएकाहरुलाई घरमै सुरक्षित भएर बस्न आग्रह गर्छौं,’ आचार्यले भने, ‘संक्रमितको सम्पर्कमा हुनेबित्तिकै आत्तिएर स्वाब टेस्ट गर्न दौडिइहाल्नु पर्दैन । अवस्था हेरि सबैको क्रमैसँग स्वाब परीक्षण हुन्छ ।’गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ हजार २ सय ७७ पुगेको छ ।