प्रधानमन्त्रीले नै सम्हाल्ने भए अर्थ र सूचना तथा संचार मन्त्रालय

image
शुक्रबार​, भाद्र १९ २०७७

भदौ, १९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्।आज मन्त्रिपरिषद्का अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवार सम्हालेका मन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएसँगै खाली भएका दुई मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने भएका हुन् ।राष्ट्रपतिको कार्यालय आज एक विज्ञप्ती जारी गर्दै दुवै मन्त्रालयले प्रधानमन्त्रीले सम्हाल्ने जनाएको छ ।

राष्ट्रपति कार्यालय जारी गरेको प्रेस विज्ञप्ती ।

अर्थमा ३ जना दावेदार

अहिले सम्भावित अर्थमन्त्रीका रुपमा सबैभन्दा बढी चर्चा स्थायी समिति सदस्य एवं विवाद समाधान सुझाव कार्यदलका सदस्य सुरेन्द्र पाण्डेको छ । पार्टीभित्रको समीकरण मिलाउन माधव नेपाल पक्षका नेताहरु थपिने क्रममा अग्रपंक्तिमा पाण्डेको नाम चर्चामा छ ।

पाण्डेपछि महासचिव विष्णु पौडेलको पनि अर्थ मन्त्रालय प्रवेशको सम्भावना बलियो रहेको नेकपा नेताहरु बताउँछन् । पार्टी एकतादेखि नै दुबै अध्यक्षलाई मिलाउन र पटक पटकको विवाद समाधानमा मुख्य भूमिका निर्वाह गरेका कारण पनि पौडेल अबको पुनर्गठनमा पर्न सक्ने उनी निकट नेताहरुको दावी छ । पाण्डे र पौडेल दुबै यसअघि एक एक पटक अर्थमन्त्री भैसकेका नेता हुन् ।

नेकपा भित्र हाल देखिएका तीन महत्वपूर्ण गुटमध्ये अध्यक्ष प्रचण्ड गुटबाट पनि अर्थमन्त्रीमा दावेदारी रहने सम्भावना उत्तिकै छ । समग्र मन्त्रीमण्डल पुनर्गठनको मुद्धा उठिरहँदा पूर्व माओवादी पक्षबाट बर्तमान उर्जामन्त्री वर्षमान पुनको समेत चर्चा चल्ने गरेको छ। अध्यक्ष प्रचण्डका विश्वासपात्र मात्रै नभएर एक पटक अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका कारण पुनको सम्भावना रहेको हो ।