भदौ, ३० काठमाडौं । नेपाल प्रहरीकै एकजना सदस्यको छोराको रहस्यमय मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले गाम्भिर्यता नदेखाएको पीडित परिवारले गुनासो गरेको छ । जिल्ला प्रहरी कार्यालय, वीरगञ्जमा कार्यरत प्रहरी हवल्दार मनिभुषण यादवका ९ वर्षीय छोरा सुमितकुमार यादवको मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रहरी उदासीन देखिएको परिवारले गुनासो गरेको हो ।
बाराको देउताल गाउँपालिका–५, धुराहास्थित घरबाट हवल्दार पुत्र सुमित गत १९ भदौमा हराएका थिए । तत्काल खोजतलासका लागि प्रहरीलाई आग्रह गरिएको थियो । त्यसक्रममा भोलिपल्ट उनको शव गाउँबाट दुई किलोमिटर पूर्वतिरको पोखरीमा भेटिएको थियो ।
मृतकका हजुरबुबा मुसाफिर यादव अनकन्टार ठाउँमा भएको पोखरीमा सुमित एक्लै कसरी जान सक्छन् भन्ने विषय नै शंकास्पद भएको बताउँछन् । प्रहरीले प्रारम्भिक अनुसन्धान नै नगरी डुबेर मृत्यु भएको जस्तो गैरजिम्मेवार प्रतिक्रिया दिने गरेकोे उनको भनाइ छ ।
‘प्रहरीले सहजै पोखरीमा नुहाउन गएकाले डुबेको हुनसक्ने भनिदिएको छ’, उनी भन्छन्, ‘तर, त्यहाँ कोही पनि नुहाउन जाँदैनन्, यो सबै स्थानीयलाई थाहा छ ।’
जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी र प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहलाई पटकपटक घटनाबारे अनुसन्धान गरिदिन आग्रह गरे पनि संवेदनशील नभएको परिवारको गुनासो छ ।
प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा डुबेर मृत्यु भएको उल्लेख छ । तर, परिवारले भने डुब्नु पर्ने अवस्था कसरी आयो ? भन्ने विषयमा खोजविन गर्न आग्रह गरेको छ । ‘अनुसन्धान गरेर आएको नतिजा हामीलाई मान्य हुन्छ तर, अनुसन्धान नै नगरी बोल्दा हामीलाई पीडामाथि थप पीडा भएको छ’, यादवले भने ।
उनका अनुसार सुमित दुई वर्षदेखि कलैयाको मेरिगोल्ड बोर्डिङ स्कुलको छात्रावासमा बसेर पढिरहेका थिए । लकडाउनपछि घर आएका उनी वस्ती पनि नभएको क्षेत्रमा कसरी एक्ले पुगे भन्ने विषय प्रहरीको अनुसन्धानको दायरामा नपर्नु दुःखद् भएको परिवारका सदस्यहरु बताउँछन् ।
‘पोखरीमा उनी साथीहरुसँग गएका थिए भने ती को हुन् ? यदि साथीसँग गएका थिएनन् भने कोसँग गए ? त्यो विषय प्रहरीको अनुसन्धानको दायरामा किन पर्दैन ?’, मुसाफिरको प्रश्न छ ।
सात जनाविरुद्ध अनुसन्धान गर्न माग
मृतकका बुबा मनिभुषणले भने घटनाबारे गम्भिरतापूर्वक अनुसन्धान गरिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय, बारामा ७ जनाविरुद्ध निवेदन दिएका छन् । निवेदनमा उनले दाजु शशिभुषण यादवमाथि पनि अनुसन्धान गर्न माग गरेका छन् ।
निवेदनमा दाजुुसहित स्थानीय सुनिल यादव, मित्रबहादुर यादव, ललिकन्दर यादव, रामबाबु यादव, उपेन्द्र यादव र अवधेश यादवविरुद्ध अनुसन्धान गर्न भनिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी पंगेनीकै आग्रहमा निवेदन दिएको परिवारका सदस्यहरु बताउँछन् । तर, निवेदन दिएपछि पनि छानविनमा उनले तदारुकता नदेखाएको परिवारको आरोप छ ।
प्रहरी प्रमुख पंगेनी भने प्रारम्भिक जाँचमा डुबेर मृत्यु भएको देखिएको बताउँछन् । उनका अनुसार शरीरमा अन्य चोटपटक पनि केही देखिएकाले मृत्युमा अन्य कारण हुननसक्ने देखिएको छ ।
यद्यपि, थप पुष्ट्याइँका लागि शवको भिसेरा र डायटम परीक्षणका लागि पठाइएको पंगेनीको भनाइ छ । भिसेरा रिपोर्टले मृत्यु हुनुअघि खाएको कुराबारे बताउनेछ भने डायटमले मृत्युपछि व्यक्तिलाई पोखरीमा फालिएको हो वा पोखरीमा डुबेर मृत्यु भएको हो भन्ने संकेत दिन्छ ।
फरेन्सिक विज्ञहरुका अनुसार पोखरीमा डुबेको घटनामा मृतकको संवेदनशील अंग लगायतमा किराले टोकेर घाउ बनाएको हुन्छ । डायाटम परीक्षणमा पोखरीमा भएका किरा र झारको आधारमा परीक्षण गरेर त्यो मुखभित्र पसेको छ/छैन भन्ने जाँच हुन्छ ।
मुखभित्र गएको अवस्थामा पोखरीमा डुबेकै कारण मृत्यु भएको मानिन्छ भने मुखभित्र नछिरेको पाइए घटनालाई शंकास्पद मानिन्छ । यस्तो अवस्थामा अन्य परिस्थितिजन्य आधारलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गर्नुपर्ने विज्ञहरु बताउँछन् ।
एसपी पंगेनी पनि डुबेर मृत्यु भए पनि कोहीसँग खेल्न जाँदा वा कसैले धक्का दिएको हुनसक्ने विषयलाई नकार्न नमिल्ने बताउँछन्। उनी भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं, कोही बच्चा नै गएको भए पनि अहिले डरले भन्न नमानेको हुनसक्छ ।’