असोज,२ काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिए । उनले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको छ भने । यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। धेरैपछि रेल नेपाल पुनः सुरू हुन थालेकाले धेरैमा रेल कस्तो हुनेछ भन्नेमा धेरैको कौतुहल्ता छ।
यस्तो रेलको बोगीभित्रका केही तस्वीरहरू सार्वजनिक भएका छन्। ती तस्वीरहरूले बोगीको भित्री डिजाइन आकर्षक रहेको देखाएको छ। यी तस्विरहरू रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन्।
रेलको बाहिरी आवरणमा नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा तयार भएको छ।यो रेल एक अर्बको लागतमा खरिद गरिएको हो। नेपाली रेलको सेट भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको भने आपूर्तिकर्ता कम्पनी कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेड हो।