भदौ, २८ काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ मा आइतबार विहान गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेका छन् ।उक्त पहिरोमा परी आइतबार दिउँसोसम्म ९ जनाको शव भेटिएको छ भने २२ जना बेपत्ता छन्।
उनले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक पटक पहिरोले क्षति गरेको भन्दै भूगर्भविदहरुले औंल्याएका जोखिमका वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।सभापति देउवाले उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।