भदौ, २५ काठमाडौं । निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु नियमित हुन थालेका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओले नियमित सेवा थालेको छ । उपत्याकामा निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा थालनी भएको हो ।
नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थालेको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।‘हामी सतर्कतासहित सेवा दिन्छौं, यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौं,’ उनले भने ।
पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्य सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ ।
‘हामीले लकडाउनपछि सेवा खुल्दा जसरी सेवा दियौं, त्यसैगरी आवश्यक सतर्कतासहित अब पनि सेवा थालेका छौं,’ पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले भने ।
‘राइडरहरूलाई सेनिटाइजर, प्रोटेक्टिभ मास्क, सुरक्षात्मक कपडा लगाएर मात्रै सेवा दिन भनेका छौं, राइडपछि सवारी पनि स्यानिटाइज गर्छौं,’उनले भने ।सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिने गरिएको उनले बताए । अब नियमित सेवामा जान अन्ति तयारी भइरहेको पठाओले बताएको छ ।