‘नाक मुख नांगै छाडेर चिउडोमा मास्क लगाउने गल्ती नगरौँ’

image
सोमबार, भाद्र २९ २०७७

 

भदौ, २९ काठमाडौं । कोरोना भाइरसको संभावित जोखिमबाट बच्न के गर्ने ? अहिले यसको लागि तीन वटा सुरक्षात्मक उपाय छ । एक, शारीरिक दुरी कायम राख्ने । दुई, मास्क लगाउने । तीन, सेनिटाइजर प्रयोग गर्ने ।

कोरोनाको संक्रमण भइसकेपछिको अवस्थामा कुनै निश्चित उपचार विधी पहिल्याइएको छैन । खोप छैन, औषधि छैन । त्यही कारण कोरोनाको जोखिमबाट बच्ने उपाय हो, संक्रमित व्यक्तिको सम्पर्कमा नपुग्नु । संक्रमित व्यक्ति जो कोही हुनसक्छन् ।

चिउडोमा मास्क

अरुको कुरै छाडौं, हाम्रा नेता–मन्त्रीहरु समेत चिउडोमा मास्क लगाएर मस्त गफ गरिरहेका देखिन्छन् । मास्कको उपयोगिताबारे सामान्य ज्ञान वा हेक्का नहुनु आफैमा उदेगलाग्दो छ । सर्वसाधरणले पनि मास्क त लगाएका छन्, तर धेरैजसोले चिउडोमा ।

संक्रमित व्यक्तिको सासको माध्यामबाट कोरोना भाइरस अर्को व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ । भाइरसको प्रवेशद्वार हो, नाक र मुख । त्यसैले नाक र मुखलाई मास्कले ढाकेपछि धेरै हैदसम्म भाइरस प्रवेश गर्न सक्दैन । यही कारण मास्क लगाउन सुझाइएको हो । यो सामान्य ज्ञान अधिकांशमा छ । यद्यपि ज्ञान हुँदाहुँदै पनि उनीहरु मास्क चिउडोमा लगाएर हिँड्छन् । कुराकानी गर्दा मास्क खोल्छन् । भनिन्छ नि, लापरवाहीको औषधि हुन्न । यस्तो लाग्छ, मानौं शरीरको कुनैपनि भागमा मास्क लगाउँदा कोरोना भाग्छ ।

चिउँडोमा मास्क लगाएका एक पुरुष ।

त्यसैगरी मास्कको पनि निश्चित आयु हुन्छ । केही पटक प्रयोग गरेपछि यसको प्रभावकारिता कम हुन्छ । तर, धेरैले एउटै मास्क पटक–पटक प्रयोग गरिरहेका छन् । कतिपयले धोएर समेत काम चलाएका छन् । मास्कलाई सही रुपमा प्रयोग गरिरहेका छैनन् ।

संक्रमणको जोखिमबाट बच्न नाक र मुख दुवै छोपिने गरी मास्क लगाउनुपर्छ तर नेपालमा भने अधिकांशले नाक खुलै राखेर अथवा नाक र मुख दुवै खुला राखेर चिउडोमा मास्क टंग्याउने गरेको पाइन्छ।यसरी नाक अथवा मुख खुलै राखेर मास्क लगाउनु र मास्क नै नलगाउनुमा कुनै फरक नरहेको चिकित्सकहरुको भनाइ छ।

जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेयले मास्कको सही प्रयोग अहिले नेपालको चुनौती रहेको बताए।

चिउँडोमा मास्क लगाएर साथिसँग कुरा गर्दै गरेकी एक महिला । तस्विर अनलाइनखबर डटकम

उनले सही ढंगले मास्कको प्रयोग गर्ने हो भने नेकपालमा एक महिनामे कोरोना संक्रमणको फैलावट ७० प्रतिशतसम्म नियन्त्रणमा लिन सकिने दाबी समेत गरे ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको अनुभवमा पनि नेपालमा सही ढंगले मास्कको प्रयाग भएको छैन।कतिपय मानिसहरुले मास्कको प्रयोग सही गरे पनि फुकालेर राख्ने ठाउँको जथाभावी प्रयोग गर्ने गरेको पाइएको उनी बताउँछन्।आफूले प्रयोग गरिरहेको मास्क फुकालेर राख्नुपरे एउटै सफा स्थानको छनौट गर्नुपर्ने उनको सुझाव छ।

झापाको विर्तामोडमा चिउँडोमा मास्क लगाएर सडकमा हिँडिरहेकी एक महिला । तस्विर आमसंचार डटकम

नाक र मुख छोडेर चिउडो मात्रै ढाकेर मास्क लगाउनु बुद्धिमानी नहुने बताउँदै उनले नाक र मुख ढाकेर मात्रै मास्कको प्रयोग गर्न आग्रह गरे।

बाटोमा एक्लै हिँड्दा, घरमा बस्दा अथवा राति सुत्दा मास्क लगाउन नपर्ने तर अस्पताल लगायतका स्थान र मानिसहरुको भीडभाड हुने स्थानमा भने मास्कको प्रयोग चिकित्सकहरुले सुझाव दिएका छन्।

हिजो आज नेपालमा मास्कका प्रयोगकर्ता बढेका भए पनि यसको सही प्रयोगमा समस्या भएका कारण चिकित्सकहरु चिन्तामा छन्। कतिपय मानिसहरुले दिनभरी मास्क लगाएरै बसे पनि कुनै मानिस भेटिँदा अथवा कुराकानी गर्नुपर्दा मास्क फुकालेर गरिरहेका हुन्छन्।

 

 

डा. शेरबहादुर पुनले मानिसहरको यो निकै नै खराब बानी रहेको बताउँछन् । नेपालमा गाउँको तुलनामा शहरी क्षेत्रमा संक्रमणको जालो फैलिएको छ। घना बस्ती भएको राजधानी काठमाडौँमा संक्रमणको जोखिम सबैभन्दा धेरै पाइएको छ र यो अझै बढ्दो क्रममा छ।

चिउँडोमा मास्क लगाएका हेर्दा शिक्षित देखिने एक युवा । तस्विर आमसंचार डटकम

त्यसैले कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गरी मास्कको सही प्रयोगमा तपाईँ हामी सबैले लापर्वाही गर्नु हुँदैन। समाजका प्रतिष्ठित व्यक्तिहरु नै चिउडोमा मास्क लगाएर हिँडिरहेका भेटिनु लापर्वाहीको पराकाष्ठा हो।