भदौ, २८ नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले रेड पाण्डाको छालासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।बाँकेको बैजनाथ गाँउपालिका १ स्थित गगन थारुको डेनियाल रेष्टुरेन्टमा रेड पाण्डाको छाला खरिद विक्री गरिरहेका अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले देव बहादुर बाठा, ईन्द्र बहादुर नेपाली, गणेश बि.क., जय बहादुर बि.क. र कृष्ण वलीलाई नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको हो । गोप्य सूचनाको आधारमा उक्त रेष्टुरेन्टमा प्रहरीले छापा मारेको जनाइएको छ ।
खानतलासी गर्ने क्रममा कोठाको खाट मुनी राखिएको अवस्थामा नङ्ग्रा, दाँतसहितको रेड पाण्डाको छाला बरामद गरिएको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।प्रहरीका अनुसार घटनामा संलग्न ईन्द्र बहादुर नेपालीले जाजरकोटका लोकेश सिंहबाट उक्त छाला १ लाख नगदमा खरिद गरेका थिए ।
नेपालीको सहयोगमा खरिद गरिएको उक्त छाला कृष्ण वली, गणेश वि.क. लगायतले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्री गर्ने उद्धेश्यले बाँके ल्याएका थिए ।सोही छालाको खरिद बिक्री हुँदै गर्दा प्रहरीले घटनामा संलग्न पाँच जतालाई नियन्त्रणमा लिएको बताएको छ । नियन्त्रणमा परेका सबैजनामाथि थप अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।