भदौ, २८ रोल्पा । बैंक कर्मचारीसँगै एकै दिन आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रोल्पाको होलेरी बजार सिल गरिएको छ।पछिल्लो समय मुलुकभर कोरोना भाइरसको महामारी बढिरहेको बेला रोल्पा, रुकुम, प्युठान र सल्यान जिल्लाको प्रवेशद्वार समेत रहेको होलेरी बजारका स्थानीयमा नमुना परीक्षण गरिएको थियो भने क्वारेन्टाहइनमा बसेकाहरुको पनि स्वाब नमुना परीक्षण गरिएको थियो।
कुल १६ जनामा गरिएको परिक्षणमा होलेरीस्थित कामना सेवा बिकास बैंकमा कार्यरत एक पुरुष कर्मचारी र डेरी उद्योग सञ्चालिका एक महिला व्यवसायीलगायत क्वारेन्टाइनमा बसेका अन्य पाँच जना गरी आठ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो। संक्रमित आठै जनालाई उपचारका लागि जिल्ला सदरमुकाम लिवाङस्थित तयारी अवस्थामा रहेको आइसाेलेसन केन्द्रमा आजै लगिने जनाइएको छ।
प्रदेश नम्बर ५ का विभिन्न पहाडी जिल्लाहरुकाे प्रवेशद्वार तथा रोल्पा जिल्लाकै दोश्रो ठुलो व्यापारिक केन्द्र मानिने होलेरी बजारमै कोरोना संक्रमण देखिएपछि समुदायस्तरमै संक्रमण फैलिने खतरा बढेकाले रुन्टीगढी गाउँपालिकाको शनिबार बसेको आकस्मिक बैठकले अाइतबारदेखि एक सातासम्मका लागि बजार सिल गर्ने निर्णय गरेको हाे।
प्रतिक्रिया दिनुहोस्