राहत वितरण गर्दैैछ भन्ने हल्ला फैलिएपछि , पर्सा जिल्ला प्रहरी कार्यालयमा मानिसहरुको ठूलो भिड

image
बिहीबार, भाद्र १८ २०७७

 

भदौ, १८ वीरगञ्ज । बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा जाने बाटोमा मानिसहरुको ठूलो भिड लाग्यो । मानिसहरुले हातमा नागरिकता बोकेका छन्, केहीले नागरिकताको फोटोकपी गराउँदैछन् र निवेदन पनि लेखाउँदैछन् ।जिल्ला प्रहरी कार्यालय पर्साले राहत वितरण गर्दैैछ भन्ने हल्ला फैलिएपछि मानिसहरु यहाँ आएका छन् । तर भिड बढी भएपछि प्रहरीले बिहीबार राहत वितरण गरेन । मानिसहरु त्यसै तितरबितर भए ।

१२० दिन लामो लकडाउनपछि जनजीवन सामान्य हुँदै थियो । तर कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढेपछि पर्सामा साउन १० गतेदेखि निरन्तर निषेधाज्ञा छ ।निषेधाज्ञा सुरु भएको झण्डै डेढ महिनापछि, दिन लागिएको राहत लिन आउनेमा अधिकांश महिला थिए । अत्याधिक भिड भएपछि प्रहरीले सम्झाएर हटाउन खोज्दा उनीहरुले मान्दै मानेनन् ।

चर्को घाम छ, कोरोनाको महामारी छ, भिड गर्दा रोग सर्ने जोखिम हुन्छ भनेर प्रहरीले सम्झाउँदा उनीहरुको एउटै जवाफ थियो ‘कोरोना र चर्को घामले हैन भोकले मरिन्छ ।’जिल्ला प्रशासन कार्यालय पर्साले भदौ १२ गते जारी गरेको निषेधाज्ञामा अति गरिब, विपन्न दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गर्ने उल्लेख गरेको थियो ।

त्यसअनुसार चामल, दाल, नुन, तेल, जस्ता खाद्य सामाग्रीको थैली तयार गरी वितरणको प्रबन्ध महानगरपालिकाले मिलाउने भनिएको थियो । तर वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले राहत सामाग्री महानगरपालिकाले उपलब्ध गराए पनि वितरण प्रशासनले गर्नुपर्ने धारणा राखे ।
बिहान राहतका लागि जिल्ला प्रहरी कार्यालय पर्सा तर्फ अघि बढेको भिडलाई प्रहरीले तितर बितर पारिदियो । राहतको आशमा ज्यान जोखिममा राखेर भिडमा उभिएका कतिपय निराश भएर फर्किए । पछि घण्टाघरबाट ४० जनाको नागरिकता संकलन गरियो । नागरिकता दिनुस् परिवारको स्थिति बुझेर राहत प्याकेज घरमा पुर्‍याउँछौ भनेपछि ४० जनाले मात्रै नागरिकता दिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले चुलो नै नबल्ने अवस्थामा पुगेका नागरिकलाई राहत दिन खोजेको बताए ।

‘बाहिरबाट केही समान जुटाएका थियौं, केही समान हामीसँग पनि थियो । सबैलाई मिलाएर अति गरिब चुल्हो नै नबल्ने अवस्था भएकालाई सामाग्री दिन खोजेका हौं’ उनले भने ।

तर राहत वितरण हुँदैछ भन्ने हल्ला चलेछ नियन्त्रण नै गर्न नसक्ने भिड जम्मा भएपछि बिहीबार राहत वितरण नै भएन । ‘घण्टाघरमा केहिको नागरिकता र सम्पर्क नम्बर लिएका छौं। औचित्यता र आवश्यकताको आधारमा वितरण गर्छौ’ उनले भने ।