फ्लाइट नपाएपछि नेपालगञ्जमै रोकिए डा. केसी

image
सोमबार, आश्वीन ५ २०७७

असोज, ५ काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं फर्किने विमान नपाएपछि सोमबार नेपालगञ्जमै रोकिएका छन् । जुम्लाबाट काठमाडौं फर्किन सोमबार नेपालगञ्जसम्म एम्बुलेन्समा आएका उनले काठमाडौं फर्किने विमान नपाएपछि नेपालगञ्जमै अनशनलाई निरन्रता दिएका छन् ।

उनका सहयोगी डा. प्रवीण गिरीका अनुसार केसीलाई भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको डा. गिरीले जानकारी दिए ।

जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाडेका थिए ।दुई वर्षअघि आफू अनशन बसेका बेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड भएको भन्दै केसीले यस वर्ष पनि त्यस्ता गतिविधि नहोस् भनेर काठमाडौं जान लागेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।