भारतले चीनमा विकसित पबजीसहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध

image
बिहीबार, भाद्र १८ २०७७

भदौ, १८ काठमाडौं । भारतले चीनमा विकसित पबजीसहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ ।

सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका मोबाइल एप्सहरु आफ्नो देशमा नचल्ने बनाएको हो ।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती एप्सहरु भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोकतान्त्रिक व्यवस्थाविरुद्धको गतिविधिमा लिप्त भएकाले प्रतिबन्ध लगाएको उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘यो कदमबाट भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुने छ । यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्य अनुसार गरिएको हो ।’

भारतले चीनमा विकसित एप्सहरुको माध्यमबाट मोबाइलका डाटा चोरी गरेको आरोप लगाएको छ ।

भारत सरकारले यसअघि जुन महिनामा पनि लद्दाखमा चिनियाँ सेनासँग भिडन्त भएपछि चीनसँग सम्बन्धित ५९ मोबाइल एप्स बन्द गरेको थियो, जसमा टिकटकसमेत समावेश छ ।