चितवनमा एच नाइन भाइरसबाट कुखुरा मर्न थाले

image
मङ्गलबार, आश्वीन २० २०७७

असोज, २० काठमाडौं । कुखुरामा एच नाइन भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो ।यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईले बताए । “काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं ” उनले भने ।

उनले भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको र्‍यापिड टेस्टमा बर्ड फ्लुको संकेत देखाए पनि काठमाडौंमा गरिएको परीक्षणमा एच नाइन भाइरस देखाएको बताए । एच फाइभ (५)लाई बर्ड फ्लु भनिन्छ । यो मानिसमा समेत सर्न सक्ने रोग भएकाले कुखुरालाई मार्ने गरिन्छ । तर केशरबागमा देखिएको रोग बर्ड फ्लु नभएको पुष्टि भएको छ ।

बर्ड फ्लु नभएपछि भरतपुर महानगरपालिकाका प्रतिनिधि, पशु प्राविधिक, वडाका प्रतिनिधिलगायतको उपस्थितिमा पाँच हजार बढी कुखुरा गाडिएको छ ।

तर कुखुरा पालक किसान खेमराज पाठकले आफ्नो कुखुरा बर्ड फ्लु भएरै मरेको दावी गर्दै हल्ला नफैलाउनका लागि माथिल्लो निकायबाट लुकाएको बताए ।

उनले भने–‘भरतपुरमा बर्ड फ्लु देखाउँदा काठमाडौंबाट एच ९ भन्ने जानकारी पाए, यो सबै लुकाउने काम भएको छ ।’ उनले पोल्ट्री फार्म नजिकै केही चराहरु समेत मरेको भेटिएको दावी गर्दै ठूला व्यापारीको दवाबमा बर्ड फ्लु लुकाउने काम भइरहेको दावी गरे । ‘हामी जस्ता साना किसानले न्याय पाउनु पर्छ भन्ने हो, यहाँ ठूलाको दवाबमा बर्ड फ्लुलाई लुकाउने काम भइरहेको छ ।’