असोज, ३० काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताएका हुन् ।
‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक, अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस गरिरहेका छन्’, बादलले भनेका छन्, ‘त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैन भन्ने मेरो पूर्ण विश्वास छ ।’
उनले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनाबद्ध तरिकाले अघि बढ्न पनि निर्देशन दिएका छन् । त्यसका लागि मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराउने वचन पनि बादलले दिएका छन् ।महामारी नियन्त्रणका क्रममा लगिएको लकडाउन र संक्रमणका कारण नयाँ सुरक्षा चुनौतीहरुको सामना गर्नु परिरहेको बताउँदै उनले यसमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा पनि गरेका छन् ।