निषेधाज्ञा खुकुलो भएसँगै फेरि बढ्न थाल्यो कोरोना संक्रमण

image
बुधबार, आषाढ १६ २०७८

पछिल्लो २४ घण्टामा २,८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७,१८७ जनामा गरिएको पिसिआर परीक्षणमा १,८८९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

४,३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १,००३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ । जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।
यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३,५९७ छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३,५६१ रहेको छ । तीमध्ये ३०,५४४ जना होम आइसोलेसनमा छन् । ३,०१७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ९,११२ जनाको मृत्यु भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएको २,६३६ भन्दा आज २५६ जनाले बढी थपिएका छन् ।
सोमबार २,४४४ जना सङ्क्रमित भेटिएका थिए । आइतबार १,९२० जनामा मात्र कोरोना सङ्क्रमित पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।