काठमाडौं- सरकारले माघ मसान्त सम्म विद्यालहरू बन्द गर्ने आदेश दिएको थियो । कोभिड –१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको अवस्थामा बन्द विद्यालयहरू पुनः सञ्चालनका लागि तयारी भईरहेको छ ।
विद्यालयसंगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफल गरेको थियो । छलफलबाट प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।
सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासङ्घका अध्यक्षा कमला तुलाधरलगायतको सहभागिता थियो ।
नेशनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सिसिएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिनुभएको छ ।
यही माघ २५ गतेसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले सुझाव दिएको छ ।