एउटा आउँदै गरेको रेल, अर्को विपरीत दिशामा जाँदै गरेको रेल। यो बलिउड फिल्म 'लन्च बक्स'को पहिलो दृश्य हो। कुशल निर्देशकहरूले पहिलो दृश्यबाटै आफ्नो फिल्मको विषयवस्तुबारे संकेत दिन्छन्।
नेपाली अभिनेता/निर्देशक माओत्से गुरुङ लन्च बक्सको सुरूआती दृश्यबाटै निर्देशकले धेरै कुरा बताउन खोजेको मत राख्छन्। उनलाई अत्यन्तै मन पर्ने यो फिल्ममा इरफान खान (साजन) र निमरत कौर (ईला) मुख्य र नवाजुद्दिन सिद्दिकी (शेख) को भूमिकामा छन्।
ईला र साजन दुई अलग पट्रीबाट आ-आफ्नै बेग्लै यात्रामा हिँडेका दुई रेलजस्तै छन्। साजन ३५ वर्षदेखि काम गरेर कार्यालयबाट अवकाश पाउनै लागेका कर्मचारी हुन्। अर्कोतिर, ईला गृहिणी हुन् जो सधैं श्रीमानका लागि लन्च बक्स तयार पार्छिन्। र, मुम्बई सहरमा सेवा प्रदान गर्ने डब्बावालाहरूको माध्यमबाट लन्च बक्स श्रीमानको कार्यालय पठाउँछिन्।
एक दिन गल्तीले ईलाले पठाएको लन्च बक्स साजनको टेबुलमा पुग्छ। यो गल्ती थाहा पाए पनि उनी साजनलाई लन्च बक्स पठाउन छोड्दिनन्। बरू, लन्च बक्समा उनी चिठी पनि पठाउँछिन्। साजनले पनि ईलाको चिठीको जवाफ पठाउँछन् र यी दुई अपरिचित पात्र लन्च बक्स मार्फत जोडिन्छन्।
माओत्से फिल्मका दुई अपरिचित मुख्य पात्रलाई जोड्ने निर्देशक रितेश बत्राको यो शैलीको खुलेर तारिफ गर्छन्।
भन्छन्, 'लन्च बक्सको कथा सरल भए पनि कथा भन्ने शैली खतरनाक छ।'