ला लिगाकाे उपाधि रियल म्याड्रिडलाई, बार्सिलोना आफ्नै घरमा पराजित

image
शुक्रबार​, श्रावण २ २०७७

साउन,२ एजेन्सी। स्पेनिस क्लब रियल म्याड्रिडले सिजन २०१९/२० अन्तर्गत स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति  भएको लिगको ३७औं खेलमा भिल्लारियललाई २-१ गोलअन्तरले हराउँदै रियलले उपाधि हात पारेकाे हाे ।

आफ्नो दोस्रो घरेलु मैदानमा भएको महत्त्वपूर्ण खेलमा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने । रियलका लागि २ वटै गोल उनैले गरे । मार्को एसेन्सियोको १ गोल रद्द भएको थियो । याेसँगै रियलले ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

 

खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले लुका मोड्रीचको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि खेलकाे ७७ औं मिनेटमा बेन्जेमाले नै गाेल गर्दै रियललाई २-० काे अग्रता दिलाए ।

खेलकाे ८३ औं मिनेटमा मारिया गास्पारको क्रसमा भिसेन्ट इबोर्राले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । थप समयमा गोल हुन नसक्दा रियलले फराकिलो अग्रतासहित उपाधि पक्का गर्न सफल रहयो ।

बार्सिलोना आफ्नै घरमा पराजित

गए राति नै भएकाे अर्को खेलमा भने बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २-१ ले पराजित भएको छ । खेलको १६ औं मिनेटमा जोसे अर्नाइजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका हुन् । उनले पेर्भिस एस्तुपिएनको पासलाई सदुपयोग गरेका थिए ।

 

६२ औं मिनेटमा लिओनेल मेस्सीले फ्रिकिकमार्फत सिधै गोल गर्दै खेल बराबरीमा ल्याए । ७५ औं मिनेटमा एन्रीच गालेगोले डिफेन्डर क्लेमेन्ट लेङलेटलाई फल प्रहार गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिए ।

१० खेलाडीमा रहनुका बाबजुद ओसासुनाले खेलमा जित हासिल गरेको थियो । इन्ज्युरी समयको चौथो मिनेटमा रोबर्टो टोरेसले गोल गर्दै जी जित पक्का गरे । उनले एन्रिके बार्जाको क्रसमा गोल गरेका थिए ।

यस नतिजासँगै रियल म्याड्रिडले लिगको १ खेल बाँकी रहँदै ७ अंकको अग्रता लिँदै स्पेनिस लिगको शीर्ष श्रेणीको च्याम्पियन बनेको छ । साविक विजेता बार्सिलोना भने दोस्रो स्थानमा सिमित रहने भएको छ ।

रियलले ३७ खेलमा ८६ अंक जोड्दा बार्सिलोनाले मात्र ७९ अंक जोडेको छ । अन्तिम चरणको खेलमा रियलले लेगानेस र बार्सिलोनालले अलाभेससँग खेल्नेछन् ।