असार,२८ चितवन । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन पुगेका प्रचण्डले आइतबार यहाँ आयोजित कर्यक्रममा आफूलाई विगतमा केपी ओलीले लम्पसारवादी भनेर आरोप लगाएको तर, इतिहासले त्यसलाई गलत सावित गरिदिएको बताए ।
केपी ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँग गठबन्धन बनाएको प्रसंग कोट्याउँदै प्रचण्डले भने, ‘केही साथीहरुलाई लाग्यो, म लम्पसारवादी भएँ, यो लम्पसारवाद भयो, साथीहरुले कडा आलोचना गर्नुभयो । मैले संसदको रोस्टमबाट भनेको थिएँ, यो लम्पसारवाद होइन । यो हाम्रो आन्तरिक विवादको कुरा हो, भोलि इतिहासको घटनाक्रमले देखाउने छ, हो या होइन भन्ने कुरा ।’
अध्यक्ष प्रचण्डले अगाडि भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग ट्रेड एण्ड ट्रान्जिट सम्झौता भयो, म प्रधानमन्त्री हुँदा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरलाई) सम्झौता भयो । के यो लम्पसारवाद हो ?
उनले थपे, ‘फास्ट ट्रयाक निर्माण के होला भन्ने थियो, मैले त्यसको जिम्मा नेपाली सेनालाई दिएँ, के यो लम्पसारवाद थियो ?’
आफू प्रधानमन्त्री भएपछि मधेसवादी दलहरुलाईसमेत समेटेर निर्वाचन सफल पारेको र लोडसेडिङको अन्त्य गरेको प्रचण्डले सुनाए। उनले भने, ‘संविधान त बन्यो, निर्वाचन हुन्छ त ? भन्ने थियो । मैले मधेसीहरुलाई पनि भरोसामा लिएर देशलाई निर्वाचन प्रक्रियामा अगाडि बढाएँ, त्यो लम्पसारवाद थियो त ?’
यस विषयमा प्रधानमन्त्री केपी ओलीसँग खुल्लमखुल्ला कुरा हुने गरेको प्रचण्डले सुनाए ।
‘पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन’
प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गरे।
करिब २७ मिनेट भाषण गरेका अध्यक्ष प्रचण्डले भने, ‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’
अध्यक्ष प्रचण्डले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था नआउने बताए । र, यसका लागि नेतृत्वलाई खबरदारी गर्नसमेत उनले चितवनवासीलाई आग्रह गरे । ‘मेरो तपाईं सबै कमरेडहरुलाई विनम्रतापूर्व आग्रह छ, म फेरि दोहोर्याउँछु, यो पार्टीलाई विभाजन हुन दिइने छैन । पार्टी एकतावद्ध हुन्छ, तपाईहरुले अहिले यता र उता दौडिनुपर्ने परिस्थिति नआओस् भनेर म तपाईहरुलाई अपील गर्न चाहन्छु’ उनले भने, ‘सबैले जिन्दावादको नारा लगाऔं, यही नै यो राष्ट्रको हितमा छ । पार्टी र देशको हितमा छ ।
प्रचण्डले अगाडि भने, ‘अस्ति मेरै नेतृत्व चलेको बैठकमा पहिलो एजेण्डा सीमा सुरक्षा र समाधान थियो । त्यहाँ मैले बोल्दा होस् या अरु सबैले बोल्दा, सरकारलाई धन्यवाद दिइएको छ । केपी ओलीलाई धन्यवाद दिइएको छ, पार्टीको निर्णयले मात्रै पुग्दैनथ्यो, प्रधानमन्त्रीको हैसियतले अन्त्यमा तपाईले औपचारिकता दिनुभयो, धन्यवाद भनियो ।’
‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ’
कार्यकारी अध्यक्ष प्रचण्डले लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन दिएको र त्यसलाई प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको बताए ।
यसबारे व्याख्या गर्दै प्रचण्डले भने, ‘मलाई कुन अर्थमा गर्व छ भने मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्जालनको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित गर्यो र मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो ?’
त्यसपछि माघमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट ढीलो नगरी लिम्पियाधुरादेखि लिपुलेक र कालापानीसहितको भूभाग समेटिएको नक्सा प्रकाशित गर्नुपर्दछ र जरुरी पर्दछ भने हामीले त्यसलाई संवैधानिक व्यवस्था पनि गर्नुपर्दछ भनेर आफूले केन्द्रीय समितिमा पनि भनेको प्रचण्डले सुनाए ।
‘केन्द्रीय समितिले अविलम्ब नक्सा प्रकाशित गर भनेर सरकारलाई निर्देशन दियो, के यो लम्पसारवाद हो ?’ प्रचण्डले भने, ‘कमरेडहरु हामी सबैले छातीमा हात राखेर यो पार्टीलाई एकतावद्ध गर्नका लागि सच्चाइ के हो भने एउटा कम्युनिष्ट स्पिरिटमा बुझ्नुपर्दछ । चितवन जिल्लाले नेताहरुलाई सावधान रहन खबरदारी गर्नुपर्छ ।’