असार, २३ कैलाली । प्रतिपक्षी दलका सांसदको नाराबाजी र सात्तारुढ दलका सांसदको नियमापत्ति दुवैलाई बेवास्ता गर्दै सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफललाई अगाडि बढाएका छन् ।
मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद हर्कबहादुर कुँवरले बजेटमाथि धारणा राखे । बजेटमाथि सुरु देखिनै रुष्ट रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले नाराबाजी गर्दै रोस्टम घेराउन गरे पनि सभामुख थापाले वास्ता गरेनन् ।
सभामुखतर्फ पिठ्युँ फर्काएर सदनको अपमान गरेको भन्दै सत्तारुढ दलका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारीले नियमापत्ति जनाए। तर, सभामुखले त्यो विषयमा पनि ध्यान दिएनन् ।
बजेटमाथि धारणा राख्दै कुँवरले बजेट उत्कृष्ट रहेको दाबी गरे । उनले भने, ‘यो बजेटले जनता र समाजको पक्षमा राम्रो प्रगति र उन्नत छ । सबै क्षेत्रलाई समेटेर ल्याएको छ ।’ कुँवरले सरकारले कार्यान्वयन गर्न सक्ने बजेट ल्याएको समेत बताए । ‘साना किसान, मजदुर र स्वास्थ्यमा राम्रो बजेट विनियोजन भएको छ, ’ उनले भने, ‘यो बजेट पारित गरिनु पर्छ ।’
उनको धारण नसकिँदासम्म पनि नाराबाजी र नियमापत्ति चलिनै रह्यो ।
बजेट सन्तुलित नभएको, सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरे र भ्रष्ट्राचार मौलाएको भन्दै प्रतिपक्षी दलले नियमित प्रदेश सभा बैठक अवरोध गर्दै आइरहेको थियो ।प्रतिपक्षी दलको अवरोधका कारण २० दिनसम्म प्रदेश सभा बैठकमा बजेट माथिको छलफल हुन सकेन ।
आइतबार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट माथिको छलफल सुरु गर्न प्रस्ताव पेस गरेका थिए । आइतबार पनि प्रतिपक्षी दलले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।
मंगलबार कुँवरले धारणा राखेपछि अर्काे बैठक बुधबार बिहान ८ बजे आह्वान गरिएको छ ।