असार,२९ पाेखरा । कास्की जिल्ला फुटवल संघमाथिको छानविन टुंगिएको छ । अखिल नेपाल फुटवल संघ एन्फाद्धारा गठित छानविन समितिले जिल्ला फुटवल संघमाथि ११ दिन लगाएर छानविन सम्पन्न गरेको हो ।
जिल्ला फुटवल संघमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लागेपछि एन्फाले केन्द्रीय स्तरको छानविन समिति गठन गरेको थियो । एन्फा कास्कीमाथि अनुसन्धान सकिएसँगै केन्द्रीय उपाध्यक्ष वीरवहादुुर खड्का नेतृत्वको टोलीले सोमबार पत्रकार सम्मेलन गरी छानविन सकिएको जानकारी गराएको हो । अघिल्लो साता पोखरा आएका खड्काले जिल्ला फुटवल संघले आयोजना गरेका प्रतियोगिताको हिसाब किताबमा आधारित रहेर छानविन अघि बढाएका थिए । समितिले ६ वटा प्रतियोगिताका कागजात तथा विल भरपाई माग गरेर त्यसमाथि अध्ययन गरेको थियो ।
कास्की एन्फाले २०७५ मा आयोजना गरेको मनकामना कप, जिल्ला लिग, जिल्ला स्तरीय अन्तर विद्यालय फुटवल प्रतियोगिता, प्रदेशस्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तर विद्यालय फुटबल प्रतियोगित माथि छानविन गरिएको छ । छानविन टोलीका संयोजक तथा एन्फा उपाध्यक्ष खडकाले छानविनको प्रतिवेदन केन्द्रमा वुझाउने र केन्द्रलेनै प्रतिवेदनमा उल्लेख भए अनुसार आगामी कदम चाल्ने जनाएका छन ।
उनले पटक पटक सञ्चार माध्यमलाई यस अघि पनि आफ्नो अधिकार क्षेत्र भन्दा वाहिर गएर केही नवोल्ने र आफु कोही कसैलाई दोषी देखाउन वा कारवाही गर्न पोखरा नआएको प्रष्ट पार्दै आएका छन । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ गत माघ महिनामा वैंकिङ कसुर सहित तीनवटा मुद्दामा प्रकाउ परेपछि जिल्ला फुटबल संघ भित्र रहेको आर्थिक अनियमितताको विषय बाहिर आएको थियो ।
त्यसयता एन्फा कास्कीमाथि छानविन गरिनुपर्ने माग चौतर्फी रुपमा वढेको थियो । एन्फाले यसअघि केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो । तर श्रेष्ठले स्वास्थ्यको कारण देखाउदै पद बाट राजीनामा दिएपछि एन्फाले छानविन कमिटीको नेतृत्वमा उपाध्यक्ष खड्कालाई नियुक्त गरेको थियो । असार २ गते बसेको एन्फा कार्यसमितिको आपत्कालीन वैठकले नयाँ छानविन समिति गठन गरेको हो ।