साउन, ३ काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको भन्दै स्वागत गर्नु भएको छ ।
उहाँले मौद्रिक नीतिले समग्रमा सबै पक्षलाई समेटेकोले अब कार्यान्वयन पक्षलाई ध्यान दिनुपने र यसको लागि तुरुन्तै निर्देशिका आउनुपर्ने पनि प्रष्ट पार्नुभयो ।
उहाँले सहुलियतपूर्ण कर्जा मागको विषयमा नीतिमार्फत सम्बोधन भएको पनि प्रतिक्रिया दिनुभयो ।
उहाँले साना तथा मझौला उद्यमी (एसएमई) को माग पनि सम्बोधन भएको जनाउनुभयो । उहाँले बैंक नबाँचे व्यवसाय पनि नबाँच्ने बताउँदै भन्नुभयो,‘लकडाउनको यो कठिन समयमा कर्जा लिनेहरुलाई ब्याज तिर्न पनि समस्या छ ।
ब्याज सिंगल डिजिटमा ल्याउनुपर्छ भनेर हामीले पनि भनेका छौं । तर, म उद्योग वाणिज्य महासंघ र चेम्बरका साथीहरुलाई स्प्रेडदर घटाईदिनुहोस भनेर बोलेको कुरा अलिकति नमिल्दोजस्तो आभाष भएको छ । किनभने बैंक बाँचेन भने व्यवसायपनि बाँच्दैन् । र, व्यवसाय बाँचेन भने बैंकपनि बाँच्दैन् ।’
गोल्यानले समग्र रुपमा नीति राम्रै आएको भएपनि यसबारे आफूहरुले विस्तृतमा अध्ययन नगरिसकेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो,‘हामी आपसमा छलफल गर्दैछौं । अहिले विश्लेषणको काम भैरहेको छ ।
हामी भोलि टुँगोमा पुग्छौं । तर, समग्रमा राम्रो आएको छ। योपटक फिस्कल पोलिसी र मनिटरी पोलिसी जोडेर आएको छ । अब कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ । यसलाई कार्यान्वयन गर्न हामीसँगपनि सहकार्य हुनुपर्छ ।’
पूरा कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने कुरा उल्लेख भएकोमा यो राम्रो भएको उहाँको प्रतिक्रिया छ । उहाँले भन्नुभयो,‘बास्तवमै कृषिमा लगानी हामीले पनि गर्नुपर्छ । र, राष्ट्र बैंकले पनि गर्नुपर्छ । यसमा ध्यान दिनुपर्छ ।
अहिले ५५ अर्ब रुपैयाँ लगानी भैसकेको छ भन्ने डेटा आएको छ । यो कृषिमै लगानी भएको हो भने त धेरै खुशीको कुरा हो । अर्को कुरो एक करोडभन्दा कमको कर्जा १५ प्रतिशत हामीले दुई वर्षभित्रमा पुर्याउनुपर्छ ।
त्यो पनि धेरै ठूलो राहत हो । यसको मतलव जसले काम गर्न खोज्छ, अब पुँजीको अभावले काम रोकिँदैन् ।’