गाउँ लगिएको राहत खोस्ने वडाध्यक्ष राष्ट्रिय जनमोर्चाको कारबाहीमा

image
मङ्गलबार, आषाढ २३ २०७७

असार, २३काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा राहत लिएर जानेहरुमाथि आक्रमण गर्ने आफ्ना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको छ ।

प्रवासी नेपाली र प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यन्न किनेर असार १३ गते ढोरपाटन नगरपालिका- ४ खुँगातर्फ ट्रयाक्टरमा लगिएको राहत राजमोका कार्यकर्ताले खोलामा फ्याँकिदिएका थिए भने राहत लिएर जानेहरुमाथि आक्रमण गरेका थिए ।

उनीहरुले बिरामी उपचार गर्न पठाएको नगद समेत खोसेर लगेका थिए । राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको आक्रमणबाट राहत वितरण गर्न गएका डिलबहादुर सेरबुजा र ट्रयाक्टर ड्राइभर घाइते भएका थिए ।

उक्त घटनामा राष्ट्रिय जनमोर्चाको तर्फबाट नगरपालिकाको वडा नं ४ मा निर्वाचित वडाध्यक्ष तिलक पुनको निर्देशन र निर्वाचित सदस्यहरु तिलबहादुर फगामी र गनबहादुर फगामी संलग्न देखिएको अध्यक्ष  चित्रबहादुर केसीले जानकारी दिए ।

‘उक्त घटनामा संलग्न देखिएकोले उनीहरु तीनै जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट समेत निष्काशन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।