साउन,४ काठमाडौं । काठमाडौंका औषधि उत्पादक व्यवसायीहरू सरकारविरुद्ध आन्दोलनमा उत्रेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफूहरुसँग गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् ।नेपाल औषधि उत्पादक संघको आयोजनामा औषधि उत्पादकहरु केही दिनदेखि नेपाल औषधि विभागको कार्यालय अगाडि धर्नामा छन् । व्यवसायीहरुले केहीदिन देखि २०७४ सालको आत्मनिर्भरताका लागि गरिएको निर्णय लागू गर, हामी केही जान्दैँनौँ बिना दर्ता औषधि बेच्न मान्दैनौँ, जस्ता पम्प्लेट देखाएर प्रदर्शन गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयमा नेपाली औषधि उत्पादनको प्रोत्साहन र प्रवद्र्धनका लागि पटकपटक छलफल भए पनि छलफलमा भएका निर्णयहरू सरकारले कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको औषधि उत्पादकहरुको भनाइ छ ।कोरोना संक्रमणको अवस्थामा औषधि उत्पादकहरुले स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री तथा औषधि नेपालमै उत्पादन गरेको अवस्थामा पनि स्वदेशी उत्पादनको वेवास्था गरी विदेशबाट सो स्वास्थ्य सामग्रीहरु आयात गरेको उत्पादकहरुको गुनासो छ ।
‘नेपालको औषधि उद्योगको विकासका लागि हामीले धेरैपटक सुझाव दिएको र सो सम्बन्धमा सरकारले ‘सरकारले राम्रा निर्णयहरु गरेको भएपनि निर्णय कार्यान्वयन भएको छैन ।’ नेपाल औषधि उत्पादक संघ अध्यक्ष नारायण क्षेत्रीले भन्नुभयो ।सरकारको नीति तथा कार्यक्रममा स्थानीय उद्योगलाई आधारभूत संरक्षण दिइने भनिए पनि कुनै कार्यक्रम लागू नभएको आन्दोलित औषधि उत्पादकहरूले बताएका छन् ।