साउन,४ काठमाण्डाैँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे बस्ने तय भएको छ ।
यसअघि शुक्रबारका लागि तय भएकाे बैठक सहमति जुट्न नसकेपछि आइतबार दिउँसाे ३ बजेसम्मलाई स्थगित गरिएकाे थियाे । गत असार १० गतेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि बैठक लगातार साताैं पटकसम्म स्थगित भएकाे थियाे ।
यसबीचमा नेकपाका शीर्ष नेताहरुबीच पटक पटक छलफल भएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएका छन् । तर सहमति भने बनिसकेकाे छैन । सहमतिका लागि स्थायी कमिटी बैठक राेकेर हिजाे सचिवालय बैठक बसेकाे थियाे ।
बैठकमा ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेपछि नेकपामा जारी विवाद केही हदसम्मका लागि टरेको आंकलन गरिएकाे छ । प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको छ । तर ओलीले कुनै पनि पद नछाड्ने अडानमा हुनुहुन्छ ।भारतले मलाइ हटाउन लाग्यो र नेकपाका नेताहरु पनि मेरो विरुद्ध लागे भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले पार्टीभित्र विवाद बढ्दै गएको हाे ।