नेपाल–भारत संयन्त्र बैठक सम्पन्न, भारतीय सहयोगमा ४६ हजार भुकम्पबाट भत्किएका घर पुनर्निर्माण

image
सोमबार, भाद्र १ २०७७

भदौ, १ काठमाडौं । नेपालमा भुकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार घर निर्माण भएका छन् ।नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को सोमबार काठमाडौंमा सम्पन्न बैठकमा भारतीय पक्षले सो जानकारी दिएको हो ।

नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच यो पहिलो औपचारिक बैठक हो । यसअघि दुवै देशका प्रधानमन्त्रीचबीच शनिवार टेलिफोन संवाद भएको थियो । सोमवारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी थपिए ।

कोरोनाका कारण भिडियो कन्फरेन्समार्फत भएको बैठकमा विशेग गरी भारतको सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि यो संयन्त्र गठन भएको थियो ।

बैठकमा २०७२ सालको भूकम्पले भत्किएका ५० हजार घर निर्माण गरिदिन भारतीय पक्षले प्रतिवद्धता जाहेर गरेअनुसार ४६ हजार ३०१ घर निर्माण भएको भारतीय राजदूतले जानकारी दिए । त्यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको विषयमा पनि छलफल भएको थियो ।नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ । यो संयन्त्रको बैठक भएकाले सीमा विवादबारे कुरा नभएको मन्त्रालयले जनाएको छ । सीमाबारे छलफल गर्न सचिवस्तरीय अलग्गै संयन्त्र भएकाले यसमा कुरा नहुने भारतीय दूतावासका एक अधिकारीले बताए ।