केपी ओलीले तोकेको पाँचदिने ‘काउन्ड डाउन’ सुरु !

image
बिहीबार, श्रावण २९ २०७७

साउन,२९ काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् ।प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका विकल्पमाथि छलफल शुरु भएको हो ।

नौ दिनपछि संवादमा जुटेका ओली र प्रचण्डसँगको छलफलमा महासचिव बिष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्धय शंकर पोखरेल र जनार्दन शर्मासमेत सहभागी रहेकाले मध्यमार्गी निकास आउने अपेक्षा नेताहरुले गरेका छन् ।यसबीचमा ओली र प्रचण्डबीच झलनाथ खनाल तथा सुवास नेम्वाङलाई समेत राखेर छलफल भएको थियो ।

नेकपाका एक प्रभावशाली नेताका अनुसार अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर चैतमा महाधिवेशन गर्ने गरी समाधान खोजिँदैछ । दुवै अध्यक्षलाई संयोजक बनाएर महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने वा एकजनालाई मात्र संयोजक बनाउने भन्नेमा बहस चलिरहेको छ ।

स्रोतका अनुसार महाधिवेशन आयोजक समितिको संयोजकमा झलनाथ खनाल र वामदेव गौतमको नाममा समेत छलफल भएको छ । महाधिवेशन आयोजक समिति गठन गरेर अहिलेको संकट समाधान खोज्नेबारे छलफल शुरु भए पनि त्यसको ठोस प्रस्ताब बनि नसकेको बालुवाटार वार्तामा सहभागी एक नेताले बताए ।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई एक पद छाड्न दबाब दिइरहेको छ । उनीहरुले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा नदिए पार्टीको बहुमतले गरेको निर्णय मान्नुपर्ने दबाब पनि दिइरहेका छन् । यही कारण प्रधानमन्त्री ओली बैठकमै जान छाडेपछि नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित छ ।

नेकपाका मध्यमार्गी नेताहरुको पहलमा दुई अध्यक्षबीच समझदारीको प्रयास भइरहेको र पार्टीका अन्य बरिष्ठ नेताहरुलाई समेत सहमतिमा ल्याएर पार्टी एकता जोगाउने पहल गरिएको त्यसमा संलग्न एक स्थायी कमिटी सदस्यले बताए ।

दुवै अध्यक्षबीच संवादका रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको अहिलेको गतिरोधको निकास दुई अध्यक्षले दिने भन्दै अब त्यसको निणर्ायक छलफल शुरु भएको बताए । उनले जे विषयमा सहमति हुने हो, दुई अध्यक्षले नै गर्ने भएकाले सबै विकल्पहरु अध्यक्षहरुलाई नै जिम्मा दिइएको बताए ।

उनले भने, मैले हिजो अस्ति नै भनेको थिएँ, अब दुई अध्यक्षबीच संवादको परिपक्व अवस्था बनेको छ । नभन्दै आजबाट त्यसको शुरुवात भयो । हिजो एक अध्यक्षले समय नै तोकिसक्नुभएको छ, केपी कमरेडले भनेपछि त बुझ्नुपर्‍यो कि अब नेकपाको गतिरोध सकिन्छ । के विषयमा सहमति हुन्छ भन्ने चाहिँ उहाँहरुलाईनै छाडेका छौं ।’

प्रचण्ड-माधव पक्षका नेताहरुचाहिँ अहिलेको गत्यावरोध प्रधानमन्त्री ओलीकै कारणले सिर्जना भएको बताउँदै निकासको प्रस्ताव पनि ओलीबाटै आउनुपर्ने बताउँछन् ।

प्रधानमन्त्रीले दुबै पद नछाड्ने र महाधिवेशन आयोजक समिति बनाएर जाऔं भन्ने प्रस्ताव ओली समूहले ल्याएको संस्थापन इत्तर पक्षका नेताहरुको भनाइ छ ।तर, प्रधानमन्त्री ओलीले भनेजस्तै अजको पाँच दिनमै नेकपाको विवाद समाधान होला त ? यसको ‘काउन्ट डाउन’ आजैबाट सुरु भएको छ ।