एचआईडीसीएलले सेयरधनीलाई बाँड्यो ४१२ करोड लाभांश

image
बुधबार, कात्तिक १२ २०७७

 कात्तिक, १२ काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले हालसम्म आफ्ना सेयरधनीहरुलाई अर्बौ रुपैयाँ लाभांश वितरण गरेको छ ।विभिन्न आर्थिक वर्षहरुमा गरेको नाफाबाट लगानीकर्ताहरुलाई बोनस सेयर र नगद गरी सो रकम बराबरको लाभांश वितरण गरेको हो । एचआईडीसीएलले गत आर्थिक वर्षसम्म ४ अर्ब १२ करोड लाभाशं बितरण गरिसकेको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट यो वर्षका लागि लाभांश घोषणा गरेको छैन् ।

२०६८ साल असारमा स्थापना भएको एचआईडीसीएलले ६ वर्षको अवधिमा सो रकम बराबरको लाभांश वितरण गरिसकेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए ।  कम्पनीले ५१५ मेगावाटका १३ वटा जलविद्युत आयोजनाहरुमा १० अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरिसकेको छ ।

साथै कम्पनीले ५ वटा कम्पनीहरुमा १ अर्ब १० करोड रुपैया लगानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्षदेखि जलविद्युत् परियोजनाहरुमा पनि सेयर लगानी शुरु गरेको छ । यसअन्तरगत ७८७. मेगावाटका ५ वटा जलविद्युत आयोजनाहरुमा ८ अर्ब ३० करोड रुपैया सेयर  लगानी गरेको सीईओ पोखरेलले जानकारी दिए ।

६ वर्षको अवधिमा कम्पनीले ७ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको छ । कर पछिको खुद नाफा ५ अर्ब २५ करोड रुपैयाँ छ । हालसम्म सरकारलाई करको रुपमा २ अर्ब ६४ करोड र लाभाशंको रुपमा २ अर्ब १६ करोड गरी ४ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको पोखरेलले जानकारी दिए । एचआईडीसीएलको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ छ ।

अगामी ५ वर्षको योजना

कम्पनीले आगामी ५ वर्षका लागि व्यवसायिक योजना तयार गरी सञ्चालक समितिको अनुमोदन गरी सकेको छ । जसअनुसार कम्पनीले आगामी ५ वर्षमा निजी क्षेत्रबाट निर्माण गरिने ५६५ मेगावाट क्षमताको विभिन्न ८ वटा जलविद्युत् आयोजनाहरुमा ५ अर्ब ९ करोड रुपैयाँ सेयरको रुपमा लगानी गर्ने लक्ष्य लिएको छ ।

सरकारी निकायबाट निर्माण गरिने  १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ वटा जलविद्युत आयोजनाहरुमा १६ अर्ब २१ करोड रुपैयाँ सेयरको रुपमा लगानी गर्ने लक्ष्य लिएको सीईओ पोखरेलले सुनाए ।

निजीक्षेत्रबाट निर्माण हुने १ हजार ३३ मेगावाटका विभिन्न १८ वटा जलविद्युत् आयोजनाहरुमा १४ अर्ब ४६ करोड रुपैयाँ ऋणको रुपमा लगानी गर्ने लक्ष्य राखेको छ ।स्वदेशी तथा विदेशी वित्तीय संस्थाहरुबाट आवश्यक स्रोतको व्यवस्था गरी परिचालन गर्ने लक्ष्य राखेको छ ।

यस्तै एचआईडीसीएलले जलविद्युतमा लगानी जुटाउन ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।