कात्तिक, २५ काठमाडौं । कोभिड–१९ को खोप चाँडै बजारमा आउने खबरले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। खोप विकासकर्ता कम्पनीहरू फाइजर र बायोएन्टेकले खोप ९० प्रतिशत प्रभावकारी रहेकोर यो विज्ञान र मानवताका लागि ठूलो उपलब्धी भनेपछि यसको प्रभाव सुनचाँदी बजारमा पनि परेको हो।
अन्तर्राट्रिय सञ्चारमाध्यमका अनुसार खोपका बारेमा सुखद खबर बाहिरिएसँगै सुनमा लगानीको माग ह्वात्तै घटेको छ। फलस्वरुप भाउ घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको भाउ प्रतिऔंस १ हजार ८ सय ५५. ३० मा सीमित रह्यो। जबकी सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको सुरुवाति कारोबार प्रतिऔंस १ हजार ९ सय ६५.३३ डलर आसपासमा भएको थियो।
खोप ९० प्रतिशत प्रभावकारी भएको खबर सोमबार साँझ बाहिरिएसँगै मंगलबार नेपाली बजारमा पनि सुनको भाउमा भारी गिरावट आएको छ।
नेपाली बजारमा पछिल्लो समय सुनको भाउ लगातार उकालो लागिरहेका बेला मंगलबार तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ।
छापावाल सुनको भाउ सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो। मंगलबार तेजावी सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदीको भाउ ७० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदीको भाउ सोमबार तोलाको १ हजार २ सय ८५ रुपैयाँ रहेकामा मंगलबार १ हजार २ सय १५ रुपैयाँमा झरेको हो।