आठ वर्षपछि जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवन सञ्चालनमा....

image
मङ्गलबार, मङ्सिर २३ २०७७

मसिर, २३ जनकपुर  । आठ वर्षको लामो प्रतीक्षापछि प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधामस्थित विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले टर्मिनल भवनको मंगलबार संयुक्तरुपमा उद्घाटन गरे ।

भवन नहुँदा यात्रुहरुलाई न्यूनतम सेवा–सुविधासमेत पाउन गाह्रो भएको थियो । सेवा सञ्चालनमा आएपछि यात्रु तथा विमान कम्पनीहरुलाई सहज भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज मन्त्री भट्टराईले उद्घाटन गर्दै उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राखे ।

जनकपुर विमानस्थलमा नवनिर्मित आधुनिक यात्रु टर्मिनल तथा कन्ट्रोल टावर कम्प्लेक्सको उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ।


प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनकपुर विमानस्थललाई जनकपुरधाम विमानस्थल नामकरण गर्नुपर्ने र धार्मिक पर्यटन प्रवद्र्धन हुने ढङ्गले हवाई सेवा विस्तार गर्नुपर्ने बताए ।

 

त्यस्तै, प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री रामनरेश रायले हाल जनकपुर विमानस्थलाई अन्तरप्रदेशका साथै भारतको बिहार, बंगाल र उत्तर प्रदेशसँग जोडिने गरी स्तरोन्नति गरिनुपर्नेमा जोड दिए ।

पुरानो टर्मिनल भवनलाई विस्थापित गरी सुविधा सम्पन्न टर्मिनल भवन बनाउने सरकारको नीतिअनुरूप जनकपुरधामको ५३ वर्ष पुरानो टर्मिनल भवनलाई विस्थापित गरी रु ४२ करोडको लागतमा अत्याधुनिक सुविधायुक्त टर्मिनल भवन निर्माण गरिएको छ ।

सो भवन र टर्मिनलको संरचनामा इँटा प्रयोग नगरी स्टिलको प्रयोग गरिएको जनाइएको छ । टर्मिनल भवनको निर्माण कार्य दुई वर्षमा सम्पन्न हुनुपर्ने प्राविधिक समस्या, संरचनागत अस्पष्टताका कारण आठ वर्षमा सम्पन्न भएको छ ।