फागुन, ८ विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपा समुहले आज विराटनगरमा बिशाल आमसभाको आयोजना गरिरहेको छ । प्रतिनिधि सभाको विघटन गरेपछि नेकपाकै प्रचण्ड-नेपाल समुह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साथै नागरिक समाजले पनि ओलीको कदम असंवैधानिक भएको भन्दै व्यापक प्रदर्शन गरिरहेको अवस्थामा जवाफ स्वरुप ओली समुहले पनि आमसभा गरिरहेको हो ।
चरम दवावकाबीच आफ्नो पक्षमा विशाल जनमत देखाउन भन्दै ओली समुहको नेकपाले यसअघि काठमाडौं, कैलाली र बुटवलमा प्रदर्शन गरिसकेको छ आज विराटनगरमा भैरहेको विशाल आमसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य रहेको ओली समुहका नेताहरुले बताएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसाथै प्रदेश १ का अन्य नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
यो समाचार तयार पारिरहँदा सुवासचन्द्र नेम्बाङले आफ्नो भनाई राखिरहेका छन् । उनले प्रधानमन्त्रीले आज नयाँ केही सम्बोधन गर्ने बताए ।