फागुन,५ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले मुलुकलाई दुर्घनातिर धकेल्न खोजेको आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्।
‘देश यतिबेला राजनीतिक संकटको भूमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ र यसको विरुद्धमा प्रदर्शन भइरहेको छ, ‘उनले अघि भने, ‘पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, संविधानविद, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेका छन् । यो राम्रो संकेत होइन,’ उनले भने।
उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीको सञ्चारमाध्यमको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।उपराष्ट्रपति पुनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे।