फागुन,१३ काठमाडौं । नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले आज बिहानै प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि दुई समूहमा विभाजित नेकपाका कुनै समूहमा नलागी एकतामा जोड दिइरहेका नेता गौतम आज बिहान प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास पुगेका हुन्।
स्रोतका अनुसार आज बिहान ७ बजे नै खुमलटार पुगेका गौतमले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेका हुन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तथा दाहाल-नेपाल समूहलाई सचिवालय बैठक डाक्न आग्रह गरेका नेता गौतम बिहान साढे ७ बजे खुमलटार पुगेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए ।
भेटमा के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन । सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा सुरु भएका छन् । तर, अहिलेसम्म कुनै पनि पक्षमा नखुलेका गौतमले पार्टी एक ढिक्का बनाउने बताउँदै आएका छन् ।
प्रतिनिधिसभा विघटनपछि पार्टी एकताका लागि भन्दै गौतम कुनै पनि गुटमा खुलेका छैनन्। गत मङ्गलवार प्रतिनिधिसभा पुनर्स्थापना भएपछि गौतम पहिलो पटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद् विघटन गरेपछि नेकपामा दुई गुट सक्रिय छ। प्रचण्ड माधव समूह नयाँ सरकार गठनको कसरतमा रहेको छ। यो गुटका दुई अध्यक्षले हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गरेका थिए। पार्टीमा छलफल गर्ने भन्दै सभापति देउवाले आज पदाधिकारी बैठक बोलाएका छन्।त्यस्तै यो समूहले जनता समाजवादी पार्टीसँग पनि सहकार्यका लागि छलफल गर्दै छ।